घोराही, असार १६ गते । दाङमा बाख्रापालन व्यवसायमा किसानलाई प्रोत्साहन गर्न अनुदानमा खोर निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत देउखुरीको लमही नगरपालिका र राजपुर गाउँपालिकामा ५० प्रतिशत अनुदानमा बाख्राका लागि व्यवस्थित खोर निर्माण गरिएको हो ।
बाख्राको खोर सुधार-निर्माण सहयोग कार्यक्रम अमन्तर्गत चालु आर्थिक वर्ष २०८१-०८२ मा लमही नगरपालिका र राजपुर गाउँपालिकामा ३० वटा खोर निर्माण गर्ने कार्यक्रम अन्तर्गत अहिलेसम्म २० वटा खोर निर्माण गरिएको छ ।
व्यवसायिक रूपमा बाख्रापालनमा लाग्न इच्छुक किसानलाई प्रोत्साहन गर्नका लागि व्यवस्थित बाख्राको खोर निर्माण गरेर सहयोग गर्ने कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा करिव दुई लाख मुल्य बराबरको बाख्राको खोर निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ दाङका प्रमुख लक्ष्यबहादुर चौधरीले जानकारी दिनुभएको छ । उहाँका अनुसार खोर निर्माणमा ५० प्रतिशत किसानको लागत रहने गरी कार्यालयको २९ लाखसहित करिब ५८ लाख रुपियाँ खर्च हुने छ । कार्यक्रम अन्तर्गत किसानको चाहना अनुसार कसैले काठ र कसैले आल्मुनियमको प्रयोग गरेर खोर निर्माण गरिरहेका छन् ।
प्रमुख चौधरीका अनुसार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा ३० वटा खोर निर्माण गर्ने लक्ष्य भए पनि २९ वटा खोर निर्माणका लागि किसानसँग सहमति भएको र साही अनुसार अहिले खोर निर्माणको काम भइरहेको बताउनुभयो ।
बाख्रापालन व्यवसायमा किसानलाई प्रोत्साहन गर्ने गरी गत वर्षदेखि सुरुभएको बाख्रा जोन कार्यक्रम अनुसार खोर निर्माण गरिएको भन्दै प्रमुख चौधरीले भन्नुभयो,‘परम्परागत रुपमा बाख्रापालनमा लागेका किसानलाई व्यावसायिक बनाउने कार्यक्रमको उद्देश्य हो । त्यही अनुसार खोर निर्माणको काम भइरहेको छ ।’
लमही नगरपालिका अन्तर्गत वडा नं. ७, ८ र ९ र राजपुर गाउँपालिकाअन्तर्गत वडा नं. ५, ६ र ७ मा लागु भएको बाख्रा जोन कार्यक्रमअन्तर्गत परियोजनाले किसानका लागि खोर निर्माण, स्रोत केन्द्र स्थापना, नस्ल सुधार, घाँसको बिउ वितरण, खोप कार्यक्रमसँगै यान्त्रीकरणमा सहयोगका साथै क्षमता विकासका लागि तालिम दिने गरेको कार्यालय प्रमुख चौधरीले बताउनुभयो ।