न्यूयोर्कस्थित नेपाली कन्सुलेटमा  प्रधानमंत्रीको फोटो बिगारिएको भनिएको घटना अतिरन्जित

8.4k Shares

काठमाडौँ - अमेरिकाको न्यूयोर्कस्थित नेपाली कन्सुलेट कार्यालयमा राखिएको प्रधानमन्त्री के पी शर्मा ओलीको  फोटो बिगारिएको भनिएको घटना अतिरन्जित भएको  थाहा भएको छ।

गैर आवासीय नेपाली संघ  (एनआरएनए आइसीसी) का अध्यक्ष महेश कुमार श्रेष्ठ, नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट लगायत  न्यूयोर्कस्थित नेपाली कन्सुलेट कार्यालयमा  भेटघाटमा जाँदा राष्ट्रपति रामचन्द्र पौडेल  तथा प्रधानमंत्री के पी शर्मा ओलीको फोटो भेटघाट कक्षमा सम्मान साथ राखिएको थियो।  तर फेसबुकमा उक्त फोटो शेयर गरिंदा प्रधानमंत्री ओलीको तस्विरमा घाम टल्किएको जस्तो देखिए पछि सामाजिक संजालमा विभिन्न टिकाटिप्पणीहरु हुन थाले।

जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले सामान्य टेक्नीकल कुरालाई तिलको पहाड बनाउने कार्य गरिएको बताए । "लाइटको कारणले तानिएका धर्काहरूलाई साथीहरूबाट मेरो समेत नाम जोडेर विभिन्न टिकाटिप्पणी गरेको देखेर दुःख लागेको छ।  हल्लै हल्लाको देश भनेको यही हो। नेपालको संविधान र मल्टीपार्टी सिस्टममा विश्वास गर्ने जिम्मेवार व्यक्तिले देशका सम्माननीय राष्ट्रपति वा प्रधानमन्त्रीज्यूलाई कसैले पनि  यस्तोघृणित  हरकत गर्दैन र कदापि  गर्नु हुँदैन," उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्।

अमेरिकामै बसोबास गर्ने नेकपा एमाले निकट प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटिका अध्यक्ष संजय थापाले पनि उक्त घटनालाई बढाइचढाइ  नगर्न आग्रह गरेका छन्।

"यहाँ एउटा कुरा बुझ्न जरुरी छ: यस्तो दृश्य प्रायः क्यामेरामा उज्यालो (light reflection) परेका कारणले हुनसक्छ। फोटो खिच्दा कोण, प्रकाशको दिशा, र फ्रेमको प्रकारले असर गर्छ। यसलाई नियतवश गरिएको भनेर आरोप लगाउनु कुनै पनि दृष्टिकोणले न्यायसंगत देखिँदैन।  हामी सबै प्राविधिक विज्ञ होइनौं, तर अनुमान गर्न सकिन्छ कि यो प्रविधि सम्बन्धी कमजोरी (lighting/angle/reflection) का कारण हो। त्यसैले म कन्सुलेट अफिसको ध्यानाकर्षण गराउन चाहन्छु—यदि सम्भव छ भने तस्वीरहरूको पोजिसन, प्रकाशको दिशा, र फ्रेमको किसिम हेरी पुनः व्यवस्थापन गरिए भविष्यमा यस्तो दृश्य देखिन नपर्ला," थापाले आफ्नो सामाजिक संजालमा लेखेका छन्।

"सामाजिक सञ्जालमा टिप्पणी गर्दा हामी सबैले संयमित र सकारात्मक बन्न जरुरी छ। आलोचना आवश्यक पर्दा पनि तथ्यमा आधारित, शिष्ट र उद्देश्यपरक हुनुपर्छ," थापाले लेखेका छन्।

यस सम्बन्धमा सम्पर्क गर्दा एनआरएनए आइसीसीका प्रवक्ता गंगाधर गौतमले अमेरिकाको न्यूयोर्कस्थित कन्सुलेट कार्यालयमा राखिएको प्रधानमन्त्री के पी शर्मा ओलीको तस्बिर जानीजानी बिगारिएको वा फोटोमा छेडखानी गरिएको भन्ने आरोपमा कुनै सत्यता नभएको बताए ।  एउटा औपचारिक भेटघाटलाई लिएर विना आधार भ्रम सिर्जना गर्ने कुनै पनि गतिविधि नगर्न हामी संचार माध्यम लगायत सम्बन्धित सबैलाई आग्रह गर्दछौं, उनले भने।

"गैर आवासीय नेपाली संघ जहिले पनि सम्माननीय प्रधानमंत्री तथा नेपाल सरकारसंग निकटमा रहेर काम  गर्दै आएको संस्था हो।  स्थापना कालदेखि नै गैर आवासीय नेपाली संघ  सधैं  नेपाल र नेपालीहरुको सम्मान उच्च राख्न क्रियाशील  रहँदै आएको छ। एनआरएन नागरिकता, सामाजिक सुरक्षा,  एनआरएन लगानी जस्ता विषयमा आगामी दिनमा पनि नेपाल सरकारसंग निकटमा रहेर सहकार्य गर्न संघ तत्पर छ।  त्यसैले यस्ता कुनै पनि आधारहीन टिप्पणी तथा समाचारबाट भ्रममा नपर्न संघ आग्रह गर्दछ," प्रवक्ता गौतमले भने।

सम्बन्धित समाचार