बिश्व । कम्बोडियाका पूर्व नेता हुन सेनसँगको फोन कलमा सार्वजनिक आक्रोश निम्त्याएको भन्दै प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामा माग गर्दै सयौँ सरकार विरोधी प्रदर्शनकारीहरू बिहीबार थाइल्यान्डको सरकारी भवन बाहिर भेला भएका छन्।
देशको अवमूल्यन गरेको र सेनाको मर्यादाको अपमान गरेको आरोप लगाउँदै प्रमुख साझेदार भुमजाइथाई पार्टी बुधबार सरकारबाट बाहिरिएपछि उक्त घोटालाले पेटोङटार्नको गठबन्धनलाई हल्लाएको छ।
पेटोङटार्नले थाई सेनाको उत्तरपूर्वी कमान्डरलाई आफ्नो प्रतिद्वन्द्वीका रूपमा उल्लेख गरेको र हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेको चुहिएको कलले कडा सार्वजनिक प्रतिक्रिया पाएको छ।
उष्णकटिबन्धीय गर्मीमा आयोजित विरोध प्रदर्शनले प्रायः पहेँलो सर्ट लगाएका वृद्ध प्रदर्शनकारीहरूलाई आकर्षित गरेको छ। यो रङ थाइल्यान्डको राजतन्त्रसँग दृढ रूपमा सम्बन्धित छ। प्रदर्शनकारीहरूले ३८ वर्षीया प्रधानमन्त्री पेटोङटार्नलाई ‘कूटनीतिक सीपको कमी’ र ‘राष्ट्रिय हितलाई खतरामा पारेको’ आरोप लगाएका छन्।
“जब मैले (लिक भएको) अडियो सुनेँ म धेरै निराश भएँ”, मन्दिरकी ६८ वर्षीया कार्यकर्ता कन्या हनोटीले भने, “उहाँसँग वार्तालाप गर्ने कौशलको कमी छ। उहाँ आफूलाई के ठान्नुहुन्छ ? यो देश उहाँको होइन।”
प्रदर्शनकारीहरूले थाई झण्डा र पेटोङटार्नलाई ‘देशद्रोही’ भनेर लेबल गर्ने प्लेकार्डहरू फहराए र ‘बाहिर निस्क!’ र “नरकमा जाऊ!’ भनेर नाराबाजी गरे। प्रदर्शनका क्रममा दर्जनौँ दङ्गा प्रहरी उभिएका थिए।
भिडमा रहेका धेरैजना रूढीवादी, शाही समर्थक ‘पहेँलो सर्ट’ आन्दोलनको लामो समयदेखि समर्थक थिए। ती समर्थकले सन् २००० को दशकदेखि सिनावात्रा राजनीतिक वंशको कडा विरोध गर्दै आएका छन्।
बैङ्कककी ६२ वर्षीया गृहिणी केवटाले दुई दशकअघि बैङ्ककको डेमोक्रेसी मोनुमेन्ट नजिकै पहेँलो सर्टको प्रदशनमा सहभागी भएको बताइन्।