काठमाडौं । सर्पको खुट्टा सर्पले नै देख्छ । सुनकाण्ड पनि त्यही हो । राज्यको महत्वपूर्ण बागडोर समातेकाहरु सुन तस्करीबारे बेखरब हुने सवालै रहेन । २१ वर्षका सामान्य युवालाई कम्पनी खोल्न लगाएर संगठित गिरोहले हजारौं किलो सुन तस्कर गरेको खुलिसकेको छ । यो घटनामा को—को मिलेका छन् र विगतमा सुन तस्करी कसरी हुन्थ्यो भन्ने खोजीको विषय बनेको छ अहिले । यो काण्डले लहरो तान्दा पहरो गर्जन सक्छ ।
एक सय केजी सुन तस्करी खुलेपछि यसको उच्च तहको कनेक्शनहरु उजागर हुन थालेको छ । देशको सुरक्षा र सूचनाको मुख्य संयन्त्रमा पहुँच हुने प्रधानमन्त्री, गृहमन्त्रीलगायत मुख्य व्यक्तिहरु यति ठूलो तस्करीबारे अन्जान हुने पत्याउन सकिँदैन । अझ प्रधानमन्त्री र गृहमन्त्री भइसकेकाहरुका पछिल्ला अभिव्यक्तिले सुन तस्करमा उच्च राजनीतिक नेतृत्व जानकार हुन्छन् भन्ने पुष्टि हुन्छ । सोमबार कम्बोडियाबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ संलग्न रहेको आरोप लगाए । गृहमन्त्रीको संलग्नता विना भन्सारको सुरक्षा घेरा काटेर सुन बाहिर जान नसक्ने समेत बताए ।
ओलीले सुन तस्करी प्रकरणबारे विमानस्थलमा भने, गृहमन्त्रीले बताउनुप¥यो उहाँको संलग्नता छ कि छैन यसमा ? गृहमन्त्री श्रेष्ठले ओलीतर्फ संकेत गर्दै भ्रष्टाचार र तस्करीको जालो उच्च राजनीतिक तहसम्म फैलिएको बताएका थिए । त्यसप्रति आक्रोश पोख्दै ओलीले अभिव्यक्तिलाई अनैतिक र गैरजिम्मेवार भने । श्रेष्ठले कुनैपनि टार र कोटमा भएकालाई पनि नछाड्ने बताएका थिए । टार बालुवाटार र कोट बोलकोट अर्थ लाग्छ । यसप्रति ओली आक्रोशित भए ।
ओली प्रधानमन्त्री हुँदा पनि ३३ किलो सुन प्रकरण खुलेको थियो । यो प्रकरणमा ज्यान नै लिने घटना भएको थियो । साउन २ गते ब्रेक सु भित्र हङकङबाट तस्करी गरी ल्याइएको एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार बाहिरबाट ३ साउनमा बरामद भएपछि राजनीतिक तहमा समेत तरंग आएको छ । गृहमन्त्री श्रेष्ठले तस्करी नियन्त्रणमा कठोर कदम चाल्न थालेका छन् ।
ठगी र तस्करीका घटनामा एमाले नेता तथा कार्यकर्ता धमाधम पक्राउ परिरहेका छन् । यसकारण नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका गृहमन्त्री श्रेष्ठ एमालेको तारोमा छन् । श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा एमाले नेताहरुलाई जेल हालिदिए । ललिता निवास प्रकरणको फाइल खुल्यो । अहिले सुन तस्करीमा ठूलै गिरोह मुछिएको छ ।
रोचक त यो छ कि ठूला अपराधका घटनामा छानबिन बढाउन थालेपछि गृहमन्त्री श्रेष्ठलाई पदबाट हटाउन खोजिएको छ । शेरबहादुर देउवा स्वयंले प्रचण्डमाथि गृहमन्त्री हटाउन दबाब बढाइरहेका छन् । देउवानिकट नेताहरुले काँग्रेस केन्द्रीय समिति बैठकमा यो मुद्दा उठाइसकेका छन् । एमालेभित्र पनि गृहमन्त्री हटाउने रणनीति बनिसकेको छ । गृहमन्त्री श्रेष्ठले विगतमा नेताहरुले गरेका कर्तुतहरु छताछुल्ल बनाउन थालेपछि धेरैजसो तर्सिएका छन् अहिले । यो प्रकरणले ठूलै राजनीतिक कम्पन जाने संकेत देखिँदैछ ।