जीवनकाे सुन्दर पाना, बिदाैराइ भित्र लुकेकाे बिद्र‍ोहको भावना

12.9k Shares

- देवजंङ्ग शाही (कालिकाेट)
 बि.स. ले बिसाैं शताब्दीमा पाइला टेक्न शुरु गरेकाे पहिलाे दशकमा याे संसारमा पाइला टेक्दा र अहिलेसम्म विकट मानिने कालिकाेट उतिखेरकाे जुम्ला जिल्लाकाे रास्काेट, बिजयपुरमा हुर्किदा त्यहाँकाे सामाजिक परिपाटी अरु संसार भन्दा भिन्नै थियाे, त्यतिखेर त्याे क्षेत्रमा जाेसंग खेत, भेडाबाख्रा, गाइभैंसी र घाेडा अनि चाखुरा धेरै हुन्थ्याे त्यसलाई एलन मस्क जस्तै धनि मान्ने चलन थियाे । हाम्राे पनि गाइभैसी त थाह नभए पनि घाेडा भेडा धेरै थिए । घरखेत देखि गाेठालाे लाग्नेसम्म काम गर्ने अरु मान्छे राखे पनि घरकाे मान्छेले पनि काम गर्नु र गाेठालाे लाग्नै पर्थ्याे । बिद्यालय नहुँदा पढ्ने भन्ने कुरै थिएन तर बुबा क्षेत्रबहादुर शाही र कालीबहादुर शाही घरबाट बाहिर अरु कामकाे सिलसिलामा जाँदा पढेलेखेका काम खाेजेर हिडेकाे मान्छे भेटे संगै ल्याएर गाँउमा राखी पढाउने प्रयास जारी  रहन्थ्याे तर ति सरहरु त्यहाँकाे वातावरणमा खप्न नसकेर २/४ महिना मै छाेडेर गै हाल्थे ।

स्कुल जान नपर्ने भए अरु के गर्ने ठुलाबडाले अह्राएकाे काम मन नपराइ गर्नु पर्ने बाध्यता थियाे तर मेराे अर्धचेतन मनमश्तिष्कमा ७/८ बर्षकै बाल्य अवस्थामा नै स्कुल पठाउनु पर्ने कलिला बच्चाहरुलाई गाेठालाे पठाउने, मल बाेक्न लगाउने, खेतमा काम गराउने, लेखमा गएर जंगलबाट दाउरा खाेजेर ल्याउन लगाउने, मेला पाखामा पठाएर घास काट्न लगाउने, अनि काम गर्न आउने तल्लाे जातका कामदारहरुसंग गरिने व्यवहार देखेर अचम्भ लाग्थ्याे र त्यसबाट मुक्ति पाउने कुनै उपाए छैन हाेला भन्ने लाग्थ्याे । यस्तै यस्तै साेचाइले हाे कि बचपन देखिनै अह्राएकाे काम बिगार्ने (बिदाैराइ) गर्नेमा पुरस्कारकाे व्यवस्ता भएत पुरस्कार मै पाउथें हाेला । मल बाेक्दा डाेकाे भाँची दिने,भेडा चराउन जाँदा जंगलमा आगाे लगाइ दिने,दाउरा बाेक्न जाँदा बाटाे मै खसाल्दै खाली घर पुग्ने ।

१२/१३ बर्षकाे उमेरमा राजापुर बर्दियाबाट घरकाे लागि एक टिन( कनस्टर) ताेरीकाे तेल बाेकाएर पठाउदा  अलि माथि दा‌ैलतपुर घाटमा आइपुग्दा टिनलाई फुटालेर बाेक्दा केही समयमा सबै तेल चुहिएर सकिए पछि खाली टिन त्यतै फालेर खालीहात घर पुग्दा डरलागेकाे थियाे तर याे मान्छे यस्तै उटपटाङ्ग हाे यसले कहिलै ढंगकाे र सही काम गर्दैन भनेर कसैले खासै केही गाली या रिसाउने काम गरेनन् । गाेठालाे लाग्न जाँदा गाेठमा आगाे लगाइ दिने जस्ता अनेकाैं र अनगिन्ती बिदाैराइका कामहरु सबै वर्णन गरेर साध्य छैन् । याे संसारमा जन्म लिएका अर्वाैं मानिसहरुकाे परवरिश,काम गर्ने तरिका,विचार सबै फरक फरक हुने गर्छ । मान्छेकाे यही साेच विचारले उसलाई मालिक पनि बनाउछ भने दास पनि बनाउछ र यसै मालिक र दासकाे बीचकाे एउटा न्युट्रल फाेर्स हाे मानिसले मानिस माथि गर्ने असमान ब्यबहार,अन्याय अत्याचार तथा शाेषणकाे बिरुद्ध बिद्राेह गर्ने भावना र  त्यसकाे लागि कुनै क्लास या अभ्यासकाे अथवा उमेरकाे हदबन्दी हुँदैन् । समाजमा भएका बिकृति र असमानताकाे बिरुद्ध मान्छे कुरा बुझ्नसक्ने भनाैं ५/६ बर्षकै उमेरबाट जानी नजानी बिद्राेह या बिदाैराइ गर्नु नै समाज परिवर्तनकाे खुट्किला या पाठशाला रहेछ ।

तत्कालिन अवस्थामा मेरा बिदाैराइ, उटपटाङ्ग र असामाजिक, अनुशासनहीन, कर्तव्यहीन, असान्दर्भिक जस्तालागे पनि अहिले जीवनका आठ दशक पार गर्दै  ८० बर्षकाे उमेरमा आइ पुग्दा हिजाेकाे खासगरी बचपनका जीवन यापनका घटनाहरु अतितकाे पाना पल्टाएर हेर्दा कुनै पछुताे छैन बरु खुशी लाग्छ त्यही बिदा‌‌ैराइकाे भावनाक‌ै कारण र विचारले पछि मलाई समाजका विकृति मिटाउन र अन्याय अत्यारकाे बिरुद्ध अडिग भएर लड्न सिकायाे । पछि काठमाडाै्मा पढंन आउदा समाजिक कुरिति र आम नागरिक माथि हुने वर्गिय विभेद र असमानता तथा शाेषणकाे बिरुद्ध भूमिगत रुपमा आवाज उठाउने, क्लास लिने मार्क्सवादीहरुकाे नजिक पुग्ने माैका पाइयाे र २०२६ सालतिर क. तुलसीलाल अमात्यकाे सम्पर्कमा आएर कम्युनिस्ट पार्टीकाे सदस्यता लिएर मार्क्सवादी दर्शनकाे अध्ययन र अभ्यासमा लगातार आजसम्म निरन्तरता छ र मेरा बालपन देखिका सपना र साेचाइहरु केही हदसम्म कार्यान्वयन पनि भएकाे देख्दा खुशी छु ।

१२/१३ बर्षकाे उमेरमा हाट राजापुर बर्दिया, नुन तेल लिन जाँदा बाटाेमा रुख मुनी,ओढारमा कतैकतै त खुला आकाशमुनि सुतेकाे, माथिबाट ढुंगाहरु खसेर कति हटारुलाई चाेट लागेकाे, बाघ भालु र सर्पकाे उस्तै डर, ओैलाे लागेर बाटाे मै कतिपय हटारु अकालै मरेकाे, बाढी पहिराेकाे चपेटामा परेकाे, नदिहरुमा नाैका पल्टिएर ढुबेका यस्ता घटनाहरु देखेकाे र प्रत्येक्ष सामना गरेका घटनाहरु सम्झिदा आजपनि जिउमा काँडा उम्रिन्छन । म केही समय  स्कुलमा विदा भएकाे वेला  भारतकाे हिमाचल  प्रदेशकाे सम्दु भन्ने ठाँउमा २०२४ सालमा दाङ्मा भएकाे तरुण दलकाे पर्चा वितरण गरेकाे आराेपमा वारेन्टेड भइ निर्वासित भएर मेरा माहिला बुवा कालिबहादुर शाही त्यहाँ पुगेर ठेक्कापट्टा गरिरहेकाे ठाँउमा भेेट्न जाँदा सतलुज नदीकाे किनारै किनार बाँदर लड्ने भिरमा सडक निर्माण गरेर गाडीहरु गुडेकाे देख्दा मैले पनि  काश मेराे कर्णाली नदीकाे किनारै किनार यस्तै सडक निर्माण गर्न पाएकाे भए अछाम, पश्चिम सुर्खेत, दैलेख, जुम्ला, मुगु, हुम्लाका जनताकाे दुखकाे एउटा जंजिर चुटिने थियाे ।

पछि नेपाल फर्कर त्याे सपना साकार गर्ने काेशिसमा तत्कालिन माननीयहरु संग कुरा राखें, सडक बिभागकाे डिजीलाई भेट्न आफ्नै सामलतुमल बाेकेर काठमाडाैं पुगें, मन्त्रीहरु भेटे तर सबैकाे जबाफ नकारात्मक भेटियाे या अतरिया सापेबगर हुँदै कर्णालीकाे बाटाेकाे याेजना बनिसकेकाे भन्ने जबाफ सुन्दा निरास र रिसले छट्पटी भयाे तर मैले हार मानिन  र  त्याे क्षेत्रका जनताकाे हस्ताक्षर संकलनकाे याेजना  बनाएर छलफल गर्दा सबैले ताली पिटेर स्वागत गरे तर हस्ताक्षर संकलन गर्न हिड्नु पर्दा एकजना  नमराज शाही बाहेक  अरु कसैले साथ दिएनन् तै पनि हिम्मत नहारेर मेराे काम जारी राखे कतै याे मान्छे सानै देखि यस्तै उटपटाङ्ग नहुने काम मात्रै गर्दै आएकाे हाे,यस्ले केही गर्न सक्दैन भने भने कतिपय ठाँउमा स्वागत पनि भयाे मलाई मार्क्सवादले यति त सिखाएकाे  थियाे कि समाजमा शतप्रतिशत जनता राम्रै कामकाे थालनी गर्न खाेज्दा समर्थन गर्छन भन्ने हुन्न ,समर्थन बिराेध र तटस्थ रहने याे उहिलेदेखि अहिलेसम्मकाे समाजकाे नियति नै यस्तै रहिआएकाे छ ।त्याे हस्ताक्षर संकलन गरिसके पछि फेरि काठमाडाैं गएर तत्कालिन प्रम गिरिजा प्रसाद काेइरालालाई भेटे पछि त्याे याेजना प्रति उहाँकाे जबाफ सकारात्मक रह्याे र चिसापानी कर्णाली काेरिडाेरलाई याेजनामा पनि राखियाे र अहिले लगभग धेरैहदसम्म त्याे सडककाे निर्माण भैसकेकाे छ र बाकी पनि काम चलिरहेकाे देखिन्छ । प्रत्यक्षमा त्यसमा मेराे संलग्नता नदेखिए पनि तर मेराे पटकपटककाे प्रयास र सपना साकार   हुदैगएकाे देख्दा सपना देखेर मात्र हुन्न ती सपना साकार गर्न अथक प्रयास र कठिन अभ्यास गर्नु पर्ने रहेछ भन्ने पाठ सिखाउछ । एकातिर आफुले साेचेकाे देखेकाे सपना साकार  भएकाे देख्दा अत्यन्त खुशीकाे अनुभुति भएकाे छ भने अर्काे तिर त्याे बिकासले निम्त्याएकाे विकृति हेर्दा उहिले कै समाज ठिक थियाे कि जस्ताे पनि लाग्छ ।

आज आधुनिक विकास र गाँउ गाँउमा सडकाे पहहुँचसंगै हिजाेका दिनमा घ्यु ,खुर्शानी निर्यात गर्ने कर्णाली अहिले घ्यु खुर्शानी पनि  रुपैडिहा (भारत) बाट आयात गर्न थालेकाे छ, मार्सी चाममल उत्पादन गर्न छाडेर उसिना चावल र चाउचाउ आयात गर्न थालेकाे छ त ? चुराेट,खैनी प्रयाेग नहुने ठाँउमा आज चुराेट खैनी र  काेल्डड्रिङ्क तथा रक्सीले गाँउगाँउमा पुगेकाे छ । गाँउ गाँउमा सिंहदरबार पुगेकाे अनुभुति त जनताले गर्न पाएकाे कतै देखिन्न तर अखाद्य बस्तु,स्वास्थ्यलाई अनेक राेगकाे भण्डार बनाउने पेय पदार्थ,ठेटुवा हराएर छालामा क्यान्सर र मुट्टुलाई खराब गर्ने पाेलिस्टरका पहिरनहरु, कम्बल, ल्यु, फेरुवा र बर्खाेकाे ठाँउ स्वास्थ्यलाई अत्यन्त हानि पुर्याउने फाइबरका  सिरक डसनाहरुले लिएकाे देख्दा  हामीले कल्पना गरेकाे र आजीवन संघर्ष गरेर निर्माण गर्न खाेजेकाे आधुनिक बैज्ञानिक सभ्य विकसित र शिक्षित समाज यस्तै हाे त ?

अर्काे तिर राष्ट्रकाे राजनीतिमा पनि खडेरी परे जस्तै छ । बिदेशी र ब्यापारीकाे दलाली, सांसद बन्न टिकट र पदकाे कराेडाैंमा किनबेच, आम नागरिकलाई राेजगारी,स्वास्थ्य र शिक्षाकाे लागि बिदेशिनु पर्ने बाध्यकारी नीति नियम, आम नागरिकलाई करकाे पाताले कस्ने,कानुनकाे जंजीरले बाँध्ने तर पार्टीका नेता र कार्यकर्ताहरु  हत्या गरे पनि छुट्ने,बलात्कार गरे पनि कानुन नलाग्ने,तस्करी गरे पनि कानुनले छुन नसक्ने,कमिशन जति खाए पनि,जमिन जति खाए पनि कुनै कानुन नलाग्ने व्यवस्थालाई जनवादी लाेकतान्त्रिक गणतन्त्र भनेर हिडेकाे देख्दा दिक्क भै सकेका छन जनता यी गणतन्त्रवादीहरुकाे हर्कत देखेर आज आम नागरिकमा याे भन्दा त हिजाे कै व्यवस्था ठिक थियाे कि भन्ने विचारमा पुग्न थालेकाे देख्दा देख्दै पनि आफ्ना गल्ती कमजाेरीहरु सच्याएर जनतासंग माफि मागी याे व्यवस्था साँच्चै संसारकै उच्चतम हाे भनेर सुधार गर्नुकाे साटाे  जारशैली अपनाउन थालेकाे देख्दा दिक्कै लाग्छ । याे व्यवस्था राजावादीले हाेइन यीनै गणतन्त्रवादी तानाशाहरुले चाँडै आर्यघाट पुर्याउने सम्भावना अत्यन्त पर्वल हुँदै गएकाे देखिन्छ । 

बचपनमा हामीले गरेका बिदाैराइ या बिद्राेहले समाजलाई सकारात्मक बाटाेमा डाेहर्याउने संघर्षकाे पहिलाे खुट्किला थियाे भने रिटायर लाइफमा सत्ताकाे लगाम हातमा लिएका असक्त र अयाेग्य हरेक दृष्टिकाेणले असफल सिद्ध भैसकेका यी प्रजातन्त्रवादी र जनवादी गणतन्त्रवादीहरुकाे बिदाैराइले सिङ्गाे राष्ट्र,राष्ट्रियता र समाजलाई कुबाटाेमा डाेहर्याउदै अन्तमा खाल्डाेमा जाख्न लागेकाे छर्लङ्ग देखिन्छ । कुनै पनि व्यवस्था र अवस्था मात्रै परिवर्तन गरेर परिवर्तन हुन सक्दैन भन्ने कुरा प्रष्ट भैसकेकाे छ । त्यसैले हामीले व्यवस्था र अवस्था वदल्न कैयाैं दशक  खर्च गरि सक्याैं , कैयाैं परिवर्तन चाहने असल मान्छेकाे वलि चढाइ सक्याैं ? अब व्यवस्था र अवस्या हाेइन असल ब्यक्तिकाे चयन र खराब मान्छेकाे पलायनकाे अभियान चलाउन जरुरी छ । साम्यवादी व्यवस्था कायम नभएसम्म बिद्राेह र संघर्ष तथा सामाजिक असमानताकाे अन्त सम्भब छैन ।

सम्बन्धित समाचार