ढोरपाटन– पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमा थियो । फाट्टफुट्ट आन्तरिक पर्यटक पुगे पनि चर्चामा आउन थालेको थिएन । तर, पछिल्लो समय जलजला पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजलामा दैनिकजसो पर्यटक पुग्न थालेका हुन् ।
ढोरपाटन उपत्यकाबाट घना जङ्गल र ठूला जंघार पार गर्दै जलजाल पुग्न सकिन्छ । शान्त वातावरण र आँखै अगाडि देखिने हिमशृङ्खला हेर्नका लागि पर्यटक जलजला जाने गर्छन् । ढोरपाटन उपत्यकादेखि २२ किलोमिटर पूर्वमा रहेको जलजलामा बाह्रै महिना पर्यटक पुग्ने गरेका हुन् । ढोरबराह मन्दिर दर्शन गर्न पुग्ने दर्शनार्थीसमेत यहाँ पुग्न गरेका छन् । बर्खामा हरियाली र हिउँदमा हिउँसँग रमाउने पर्यटकका लागि जलजला उत्कृष्ट गन्तव्य बनेको छ ।
पहिले असोजदेखि आन्तरिकसहित बाह्य पर्यटक जलजला पुग्ने गरे पनि पछिल्लो समय बाह्रै महिना यहाँ आउने गरेको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले जानकारी दिए । ढोरपाटन उपत्यकादेखि १८ किलोमिटर सवारी साधन र चार किलोमिटर पैदल यात्रामा जलजला पुग्न सकिने उनको भनाइ छ ।
केही वर्ष अगाडिसम्म ओझेलमा रहेको जलजला प्रचारप्रसार र सडक सञ्जालले जोडिन थालेपछि पर्यटकको आकर्षण बढेको पुनले बताए। यो याममा दैनिक जलजला जाने पर्यटकको सङ्ख्या बढिरहेको उनको भनाइ छ । मासिक रुपमा तीन हजारको हाराहारीमा पर्यटक जलजला पुग्ने अध्यक्ष पुन बताउँछन्।