पथलवाघाटबाट तस्करी, भारतीय अरबिन्दलाई मुख्य लाइन

8.8k Shares

कलैया । बाराको पथलवाघाट नाकाबाट केही दिन यता व्यापक तस्करी चलिरहेको छ । केही दिन यता यो नाका तस्करहरूलाई खुला गरिएसंगै यहाँबाट ठूलो मात्रामा तस्करीको काम चलिरहेको छ । भारतको घोडासन , अगर्वाबाट तस्करहरूले पथलवाघाट , पिपरपाती , मौवाई हुदै तस्करी गरेको सामान सिम्रौनगढ।र कोल्वी सम्म पुर्याउने गरेका छन् । 

यो नाकाबाट सुखा , किराना सामान , कस्मेटिक सामान , कपडा , मल एवं मलको बोरामा चिनी भरेर व्यापक मात्रामा तस्करीको काम चलिरहेको छ। यो नाकाबाट तस्करीको लाइन पाउने प्रमुख कारोबारी भारतीय नागरिक अरबिन्द साह हुन् । देखावटी रूपमा उनको पसल नेपाल तर्फ सिम्रौनगढको नरवासमा रहेको छ । तस्करी गरेर ल्याएको कस्मेटिक सामान आफ्नो पसल र गोदाममा राख्ने गरेका छन् भने सुखा र कपडा कोल्वी , वरियारपुर र गंजभवानीपुर सम्म पुर्याएर पसल पसलमा बिक्री गर्ने गरेका छन् । अरबिन्दको यो तस्करी समूहमा भोला , राजु , सन्दिप , उपेन्द्र समेत छन् । यी कारोबारीहरू तस्करीको लाइन पाउने अरबिन्द साहका साझेदारहरू हुन् । यो समूहले एक दर्जन जति मोटरसाइकलको प्रयोग गरेर यी सामानहरूको तस्करी गराउंदै आएका छन् । दैनिक लाखौं रूपैयाँ राजश्व छलि गरेर यो नाकाबाट व्यापक तस्करी भैरहेको छ ।

अझै अचम्मको कुरा त के छ भने यो समूह र अन्यले ले चिनीको पनि ठूलो तस्करी धन्दा गरेका छन् । सरकारले किसानलाई रासायनिक मल उपलब्ध गराउन नसकेपछि भारतबाट साइकलमा एक , दुई बोरा ल्याउन सहज गरिदिएको छ । यही सहज गरिदिएको कारण देखाउंदै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संरक्षणमा यहाँबाट मलको पनि ठूलो तस्करी चलिरहेको छ । तस्करहरूले मलको बोरा भन्दै स्थानीय दुबै प्रहरीलाई मिलाएर चिनीको ठूलो तस्करी गरिरहेका छन् । यसरी तस्करी गरेर भित्रिएको चिनी नेपाल ल्याई घरमा जम्मा गरेर पछि पिकअप गाडीमा पसल पसलमा दिने काम हुदै आएको छ । चिनीको तस्करीबाट पनि दैनिक लाखौं राजश्व सरकारले गुमाई रहेको छ । अरबिन्दका अलावा सिम्रौनगढका कारोबारी भोला साहले पनि तस्करीको लाइन पाएका छन् । केही दिन अघिसम्म भारतमा लुक्दै आएका भोला साह अहिले नेपाल फर्केर कपडाको तस्करी गरिरहेका छन् । उनलाई अझै पनि जिल्ला प्रहरी कार्यालय बाराले खोजिरहेको बताइन्छ ।

तस्करीको यो नाका र रूटमा नेपाल प्रहरीको पथलवाघाट चौकी रहेको छ । यहाँ जानको लागि टेण्डर हालेर जाने चलन नयाँ होइन । कहिले हवल्दार त कहिले असईले यहाँ जानका लागि टेण्डर हाल्ने गर्दछन् । अहिले यो चौकीमा असई रबि यादव प्रमुखको रूपमा कार्यरत छन् । त्यसैगरी सशस्त्र प्रहरी बलको त डिएसपी प्रमुख रहने प्रस्तावित गुल्म र बिओपी नै रहेका छन् । पिपरपाती स्थित प्रस्तावित गुल्ममा डिएसपी राजनलाल श्रेष्ठ प्रमुख छन् । यसबाहेक गोलागंजमा सशस्त्र प्रहरीको बिओपी नै रहेको छ । यो बिओपीको प्रमुखमा सशस्त्र प्रहरी निरीक्षक ईश्वर कार्की रहेका छन् । गुल्म र बिओपीको मातहत रहेको पथलवाघाटबाट यति ठूलो तस्करी धन्दा चलिरहेको बेला सशस्त्र प्रहरी मौन मात्रै होइन तस्करीलाई।संरक्षण गरिरहेको आरोप यहाँ लाग्दै आएको छ । गुल्मका डिएसपी राजनलाल श्रेष्ठले तस्कर तथा व्यापारीहरूलाई भेटघाट र आर्थिक संकलनका लागि सहायक हवल्दार गोबिन्द्र चौधरीलाई घुमुवाको रूपमा परिचालन गरिरहेका छन् । तिनै घुमुवा चौधरीले डिएसपी श्रेष्ठको आर्थिक कारोबार हेर्ने गरिरहेको यहाँ तस्करी गर्ने कारोबारीहरू नै बताउँछन् । गोलागंजका सशस्त्र प्रहरी निरीक्षक कार्कीले भने कारोबारीहरूलाई आंफै भेट्ने गरेको पनि व्यापारीहरू बताउँछन् । जबकि राज्यले सीमा सुरक्षा र चोरी तस्करीको नियन्त्रणको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिएको छ। तर सीमामा खटिएका सशस्त्र प्रहरी भने तस्करहरूसंग मिलेर खुलेयाम तस्करी गराई रहेका छन् । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सीमामा खटिने गुल्म र बिओपीका प्रमुख तस्करसँग मिलेर तस्करी गराएको धेरै प्रमाणहरू भेटिएपछि एक बर्षे कार्यकाल घटाएर ६ महिने बनाएका छन् । तर पनि तस्करीमा सशस्त्र प्रहरीको संरक्षण घटेको होइन बढेको नै छ।

पथलवाघाटबाट नेपाल तर्फबाट लागूऔषध गांजाको पनि ठूलो तस्करी भारत तर्फ हुदै आएको स्थानीय बताउँछन् ।

सम्बन्धित समाचार