तिलगाउँको बाढीको कारण पत्ता लगाउन विज्ञको टोली हुम्ला पुग्यो

8k Shares

काठमाण्डौ – हुम्लाको नाम्खा गाउँपालिकाको तिलगाउँमा बाढी पहिरोको कारण पत्ता लगाउन सरकारी टोली हुम्ला पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशीलकुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली अध्ययनका लागि हुम्ला गएको हो ।

टोली आजै प्रभावित क्षेत्रमा पुग्ने हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । टोली हिजै प्रभावित क्षेत्र नाम्खा पुग्ने भने पनि मौसम खराब भएकाले पुग्न नसकेको उहाँको भनाइ छ ।

गएको बिहीवार तिलगाउँभन्दा साढे तीन किलोमिटरमाथि रहेको हिउँभित्रको ताल पग्लिएर पानी खोल्सी हुँदै बाढीमा परिणत भएको प्रारम्भिक विवरण आइसकेको छ । तर तालबाट किन र कसरी ठूलो मात्रामा पानी बाहिर आएर बाढी आयो र आउँदा दिनमा के–कस्ता जोखिम छ भनेर अध्ययन गर्न टोली गएको हो ।

यसैबीच बाढी प्रभावित १८ परिवारका ३२ जना हिमशिखर आधारभूत विद्यालय र त्रिपालमा बसिरहेका छन् ।

सम्बन्धित समाचार