काठमाडौं, ५ जेठ । मोरङ, रतुवामाई नगरपालिका-६ त्रिवेणी चोकमा आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्र.१-०२-०४५ प ९०६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-५ बस्ने ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिराहा, बरियारपट्टी गाउँपालिका-५ जानकीनगर चोकमा रोकी राखेको ना.६ ख २२५६ नम्बरको ट्रकमा म.प्र.०२-००७ प ७३४२ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाकलमा सवार अन्य १ जनाको प्रादेशिक अस्पताल सिराहामा उपचार भइरहेको छ । हाल फरार ट्रक र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
नवलपरासी पश्चिम, सुनवल नगरपालिका-९ स्वाठीस्थित सडकमा हाल नम्बर नखुलेको गाडीले लु.३६ प २५०० नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालक रामग्राम नगरपालिका-१ सण्डा बस्ने २२ वर्षीय जिवन यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
ललितपुर, ललितपुर महानगरपालिका-२ सानेपा बल्खु पुल नजिक को.१ ख ७४३७ नम्बरको ट्रकले बा.४८ प ४५८० नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौं कलंकी बाफल बस्ने रामेछाप घर भएका १८ वर्षीय राजन राना मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको स्टार अस्पताल सानेपामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लमजुङ, बेसीशहर नगरपालिका-१ रिठेबगरस्थित सडकमा उदिपुरबाट रिठेबगरतर्फ जाँदै गरेको प्रदेश ०२.०३-००१ त ५४३० नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ उदिपुर ढाडगाउँ बस्ने ३१ वर्षीय अहिर परियारको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।