काठमाडौं । महालेखा परीक्षकको कार्यालले सार्वजनिक गरेको ६२ औं प्रतिवेदनले पोखरा एयरपोर्ट बनाउँदा रिठ्ठेपानी डाँडा काट्न २९ करोड ६९ लाखको ठेक्कामा मिलेमतो भएको उल्लेख गरेको छ ।डाँडा काट्दा निर्माण कार्यको लागि बोलपत्र पेस गर्ने १० बोलपत्रदाता मध्ये ९ को करचुक्ता प्रमाणपत्र र बिड बण्ड भेलिडिटी नदेखिएको उल्लेख गरी एक बोलपत्रदातासँग २०७९ कार्तिक २५ मा लागत अनुमानको हाराहारी (०.०९ प्रतिशत न्यूनमा) मा ठेक्का सम्झौता गरेको उल्लेख छ ।
उक्त ठेक्कामा ४ लाख २० हजार ४२८ घनमिटर माटो काट्ने र बिसर्जन गर्ने कार्यको लागि निर्माण व्यवसायीले रु. २९ करोड ६९ लाख कबोल गरेकोमा रु. २९ करोड ५४ लाख (९९.४९ प्रतिशत) भुक्तानी भएको छ ।पोखरा महानगरपालिका, २६ नं. वडा कार्यालयको २०७५ पुस १८ को पत्रानुसार रिठ्ठेपानी डाँडाका बासिन्दाहरू आफैँले उक्त डाँडाको माटो काट्न अनुमति मागेको उल्लेख छ । पोखरा क्षेत्रीय विमानस्थल आयोजनाले कटान गर्नुपर्ने कुल परिमाण र स्थानीय बासिन्दाले काट्ने परिमाणको स्पष्ट अभिलेख छैन। सो बेगर उक्त माटो काट्नका लागि आयोजनाले ठेक्का सम्झौता गरी खर्च लेखेको छ ।
चीन सरकारको सहयोगमा निर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यको लागि तयार गरिएको फ्लाइट प्रोसिड्योर डिजाइनमा रनवेको अबस्ट्याकल हटाउन पूर्वतर्फ १.५ किलोमिटरमा रहेको रिठ्ठेपानी डाँडा काट्नुपर्ने उल्लेख गरिएको छ । उक्त कार्यको लागि रु.३२ करोड ६८ लाखको लागत अनुमान तयार गरी एक संयुक्त उपक्रमसँग रु. ३२ करोड ३० लाखको सम्झौता गरेको पाइयो । गतवर्षसम्म रु. २८ करोड ७९ लाख समेत अन्तिम बिलसम्म रु. ३२ करोड २७ लाख भुक्तानी भएको महालेखाको प्रतिवेदनले औल्याएको छ ।
पोखरा विमानस्थल निर्माणबारे छानबिन गरिरहेको संसदीय उपसमितिले झण्डै १० अर्ब रुपैयाँ हाराहारीमा अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । संसदको सार्वजनिक लेखा समितिको उपसमितिले ११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्षसहित प्रतिवेदनको मस्यौदा तयार पारेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन संयोजकत्वको उपसमितिले तयार पारेको प्रतिवेदन अनियमिततामा उल्लेख छ । उपसमितिले विमानस्थल निर्माण गर्दा हालका महानिर्देशक प्रदीप अधिकारी आयोजना प्रमुख रहेको र उनकै निर्देशनमा काम भएको भन्दै अधिकारीलाई तत्काल निलम्बन गरेर थप अनुसन्धानका साथै सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनसमेत सिफारिस गरेको छ ।
१४ अर्बमा बन्नुपर्ने विमानस्थलको लागत २४ अर्ब बनाएर १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष उपसमितिले निकालेको हो । विमानस्थलमा अनियमितता, करछुट, अस्वभाविक खर्च र अनियमित ढंगले काम गरेको पाइएको उपसिमितिको ठहर छ ।संसदको सार्वजनिक लेखा समितिको उपसमितिले ११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्षसहित प्रतिवेदनको तयार पारेर लेखा समितिलाई बुझाएको छ ।उपसमितिले तयार पारेको प्रतिवेदनमा २ अर्ब २२ करोड रुपैयाँ कर छुट दिएको, ठेक्का भित्रैबाट गर्नुपर्नेमा छिनेडाँडा विमानस्थल कटान गर्न ३२ करोड २ लाख नेपाल नागरिक उड्डन प्राधिकरण (क्यान)बाट खर्च गरेको उल्लेख छ ।
ठेक्काबाट गर्नुपर्ने खर्चबाहेक विमानस्थलमा एसी जडान गर्न ७ लाख ४२ हजार डलर, नाली खन्न १ करोड ६४ लाख डलर, माटो खन्न ४४ लाख डलर, बाहिरबाट माटो ल्याउन ५५ लाख डलर ठेक्काबाटै गर्नुपर्नेमाा क्यानले आफ्नो बजेटबाट खर्च गरेर अनिमियता गरेको दाबी उपसमितिको छ ।विमानस्थलमा माटो भर्न २ करोड २२ लाख डलर, इन्धन ट्यांकीका लागि २ लाख डलर, परामर्श खर्चमा २८ लाख डलर पनि अतिरिक्त खर्च गरेको दाबी सहित उपसमितिले क्यानका महानिर्देशकलाई तत्कालै हटाएर अनुसन्धान गर्न सुझाव दिएको उपसमिति सदस्य प्रेम आलेले क्लिकमान्डुलाई जानकारी दिए । आलेका अनुसार विमानस्थल १० अर्बमै बन्ने भए पनि लागत बढाएर र अस्वभाविक खर्च बढाएर २२ अर्ब पुर्याएको देखिएको छ ।