डीएमडी मारवाडीका एजेन्ट, विमानभित्रै मारवाडी ब्यापारीहरुको हुल

10.3k Shares

काठमाडौं । ४७ अर्ब रुपैयाँ ऋण र १० अर्बभन्दा बढी सञ्चित घाटामा रहेको नेपाल वायुसेवा निगम सुधार गर्न कुनै पनि सरकार गम्भीर बन्न सकेका छैनन् । अनावश्यक कर्मचारी भर्तिकेन्द्र बनाइएको निगममा अध्यक्षदेखि उच्च कर्मचारीहरुसम्म ब्यक्तिगत लाभमा मात्र केन्द्रित हुने गरेका छन् ।

सामान्यतया अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा ब्यवस्था कायम गर्ने कुरा संवेदनशील मानिन्छ । तर निगमका डेपुटी म्यानेजिङ डाइरेक्टर(डीएमडी)  जनकराज कालाखेतीले त्यो सुरक्षा ब्यवस्थालाई चुनौती दिंदै अन्तर्र्राष्ट्रिय विमानस्थलमा उडान तयारीमा रहेको विमानभित्रै मारवाडी ब्यापारीहरुको हुल लिएर गएको तथ्य खुलेको छ । काठमाडौंमा आएका महामण्डलेश्वर आत्मानन्दी गिरी बैशाख २६ गते आरए–२१७ विमानबाट नयाँदिल्लीतर्फ जान जहाजभित्र बसिसकेको अवस्थामा कालाखेतीले १० जना मारवाडी ब्यापारीलाई भेटाएका थिए ।

विमानस्थलमा बोर्डिङ पास भइसकेपछि वायुसेवा निगमको अध्यक्ष वा मन्त्री नै भए पनि विमानभित्र जान पाईँदैन । यात्रु र विमानका चालक, सहचालक र विमान परिचारक÷परिचारिका(क्याबिन क्रु) मात्र जान पाइन्छ । तर निगमका डीएमडी कालाखेतीले भने एक हुल मारवाडी लगेर विमानभित्रै महामण्डलेश्वर गिरीसँग भेट गराएका थिए । निगमका उच्चतहको कर्मचारीले दबाब दिएकाले उक्त विमानका बरिष्ठ कप्तान पीपी सिंह र सहायक पाइलट प्रसन्नसमशेर जबरासमेत किंकर्तब्यबिमूढ बनेका थिए ।

त्यसरी विमानभित्र अनधिकृत रुपमा हुलै लिएर गएको बिषयमा नागरिक उड्डयन प्राधिकरणले एक्सन नै लिनसक्छ । तर निगमका नायब महाप्रबन्धक कालाखेतीमाथि भने अहिलेसम्म पनि प्राधिकरणले कुनै एक्सन लिएको छैन ।

डीएमडी कालाखेती निगमको भन्दा पनि ब्यापारीको हितमा बढी लाग्ने गरेका छन् । उड्न लागेको विमानमा ब्यापारीको हुल लिएर महामण्डलेश्वर भेटाएका कालाखेतीले निगमका गन्तब्यस्थल नयाँदिल्ली, मुम्बई, जापान, हङकङ लगायतका स्थानका स्टेसन म्यानेजरहरुलाई समेत फोन गर्दै मारवाडी ब्यापारीहरुको २५–३० किलो सामान पनि विनाशुल्क राख्न दबाब दिएको आरोप छ । हप्कीदप्की गरेरै उनले ब्यापारीको सामान राख्न लगाउने गरेको गुनासो स्टेसन म्यानेजरहरुले पटकपटक गरिसकेका छन् । एक यात्रुले निश्चित तौलको सामान मात्र ल्याउन पाउँछ । बढी सामानको शुल्क तिर्नुपर्छ । सिंत्तैमा बढी सामान बोक्न दबाब दिंदा निगमको आम्दानीमा त असर परेको छ ।

कालाखेतीले इकोनोमिक क्लासका टिकट लिएका यात्रुहरुलाई बिजनेश क्लासमा राख्न समेत क्याविन क्रुहरुलाई दबाब दिने गरेको आरोप छ । निगम स्रोतका अनुसार प्रायः बिजनेश क्लासका सिट प्याक नहुने हुनाले उनले इकोनोमिक क्लासका टिकट लिने विशेषगरी मारवाडी ब्यापारीलाई बिजनेश क्लासमा राख्नका लागि सिफारिस गर्नेगरेका छन् ।

कालाखेती विगतमा विभिन्न मुलुकमा जीएसए छनौटदेखि टिकट बिक्री एजेन्टसम्ममा जताततै लेनदेन र सेटिङमा समेत मुछिएका थिए ।  कार्यालय समयमै प्रायः खानपिनमा बाहिर निस्कने गरेका कालाखेतीका बिरुद्ध वाइडबडी जहाज खरिद घोटालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । बोर्ड बैठकमा उपस्थित भएर भत्तामात्र बुझेका पूर्वसचिव शिशिरकुमार ढुंगाना, शंकर अधिकारी जस्तालाई भ्रष्टाचारी ठहर गरेको विशेष अदालतले कालाखेतीहरुलाई भने सफाइ दिएको थियो ।

सम्बन्धित समाचार