दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–४ मा एकै घरका चार दृष्टिविहीनलाई आर्थिक सहयोग जुटाएर घर निर्माण गर्न थालिएको छ ।
तुलसीपुरका व्यवसायी यज्ञबहादुर केसीको संयोजकत्वमा निर्माण समिति गठन गरी जन्मजात दृष्टिविहीन गणेश गन्धर्व, उहाँकी बहिनी गङ्गा, जमुना र मनिषालाई आवास निर्माण थालिएको हो । मनिषा दृष्टिविहीनसँगै हिँडडुल गर्न पनि नसक्ने बहुअपाङ्ग हुनुहुन्छ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका गरायलाका आमा रुपा गन्धर्वसहित उहाँहरू २०६८ सालमा दाङको तुलसीपुर बसाइसराइँ गरेर आउनुभएको थियो ।
विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा उहाँहरू दाङको तुलसीपुर आए पनि भाडाको घरमा बस्दै आउनुभएको थियो ।
झन्डै १५ लाख रुपैयाँ लागत अनुमान गरेर घर निर्माण शुरू गरिएको निर्माण समितिका संयोजक केसीले बताउनुभयो । अबको एक महिनाभित्र घर निर्माण पूरा भइसक्ने उहाँको भनाइ छ ।