जिल्ला अस्पताल हुम्लाका चिकित्सकले तलब नपाएको गुनासो

9.9k Shares

(रलिङ) हुम्ला, वैशाख १७ गते । जिल्ला अस्पताल हुम्लाका चिकित्सकहरूले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । गत कार्तिक महिनादेखि जिल्ला अस्पताल हुम्लामा कार्यरत चार जना चिकित्सकहरूले अस्पतालमा सेवा दिए बापतको रकम नपाएको गुनासो गरेका हुन् । 

छात्रवृति करारमा कारर्यरत एमडिजिपी एक जना र मेडिकल अधिकृत तीन जना चिकित्सकहरूले तलब नपाएको बताएका छन् । संघिय सरकार र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको चरम लापरवाहीका कारण उनीहरूले तलव नपाएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी नन्द बहादुर शाहीले जानकारी दिनुभयो ।

सूचना अधिकारी शाहीका अनुसार पटकपटक कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्दा समेत सुनुवाई नभएको हो । सात महिनादेखि तलब नपाउँदा व्यक्तिगत काममा खर्च तथा खटनपटन गर्नलाई निकै समस्या परेको जिल्ला अस्पताल हुम्लामा कार्यरत चिकित्सक एमडिजिपी हिमविक्रम शाहीले गुनासो गर्नुभयो । 

तलब नआएकै कारण घर खर्च समेत टार्न गाह्रो भएको एमडिजिपी शाहीले दुख व्यक्त गर्नुभयो । कर्णाली प्रदेश सरकारको लाचारीपनले तलब नआउनुका साथै काम गर्ने जाँगर पनि घट्न सक्ने शाहीको भनाइ छ ।

आफू चार जना चिकित्सक गरेर हालसम्मको ३० लाख ६६ हजार ५ सय २० रपियाँ नपाएको शाहीले बताउनुभयो । यसका लागि स्वास्थ्य सेवा कार्यालय हुम्लाले पटकपटक प्रदेश सरकारलाई अनुराधे गरेको थियो । तर पनि स्वास्थ्य सेवा विभाग र सामाजिक विकास कार्यालयको लापरवाहीका कारण कुनै सुनुवाई नभएको सूचना अधिकारी शाहीको भनाइ छ । 

तलब नपाउने चिकित्सकहरुमा मेडिकल अधिकृत छक्क बहादुर थापा, सर्जन सिंह, खरस्ती पर्जापती र एमडिजिपी हिम विक्रम शाही रहेका छन् । यस अघि मात्रै कर्णाली प्रदेशका पूर्व मुख्य मन्त्री जीवन बहादुर शाहीले जिल्ला अस्पताल हुम्लामै पुगेर उनीहरूको समस्या समधान गर्ने आश्वासन दिनुभएको थियो । "तर उहाँले पनि समस्या समाधान गर्नु भएन," सूचना अधिकारी शाहीले भन्नुभयाे ।

सामाजिक विकास मन्त्रालयका उपसचिव सुवर्ण खड्काले उक्त विषयमा संघिय सरकारलाई पटकपटक अनुरोध गरेकाले बैशाख पहिलो साता संघिय सरकारले तलव प्रदेशमा पठाएको भन्ने जानकारी गराए पनि प्रदेशको सिस्टममा हालसम्म नदेखाएकोले तलव पठायन नसकेको बताउनुभयो ।

यसका लागि कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई ताकेता लगाएको र अव छिटै समधान हुने उपसचिव खड्काले बताउनुभयो । केन्द्रको स्वास्थ्य मन्त्रालयले रकम पठाउने भएको र यसको अक्तियार आउँदासाथ चिकित्सकले तलव पाउने आश्वासन कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनस्याम भण्डारीले बताउनुभयो ।

सम्बन्धित समाचार