उर्लाबारी, वैशाख १७ गते । उत्तरी मोरङको लेटाङ नगरपालिकाले नगरको –९ बाह्रगोठेमा बङ्गुरपालन प्रवर्धन कार्यक्रम सुरु गरेको छ । नगरले बङ्गुरपालन क्षेत्र छनौट गरी ९ नम्वर वडाको बाह्रगोठेका ३८ जना किसानलाई १–१ वटा बङ्गुरका पाठापाठी वितरण गरी कार्यक्रम सुरु गरेको हो । लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौलाले किसानलाई पाठापाठी वितरण गर्नुभयो ।
कोशी प्रदेश सरकार र लेटाङ नगरपालिकाले संयुक्त रुपमा किसानसँग लागत साझेदारीम यो कार्यक्रम सञ्चालन गरेको हो । नगरप्रमुख लावतीका अनुसार कोशी प्रदेश सरकारको पाँच लाख रुपियाँ किसानबाट ५७ हजार रुपियाँ साझेदारी गरी कुल ५ लाख ५७ हजार रुपियाँमा कार्यक्रम सञ्चालन गरिएको हो ।
बङ्गुरपालनका लागि सबैभन्दा उपयुक्त भूगोल छनौट गरी वडा ९ का ३८ जना किसानको समूह गठन गरिएको छ । ३८ जनामध्ये ३५ जनालाई पाठी र ३ जनालाई पाठा वितरण गरिएको हो ।
लेटाङ नगरपालिकाको पशुपन्छी शाखा प्रमुख अडिमर्दन श्रेष्ठले भन्नुभयो, “खरिद नियमावलीअनुसार कृषि फर्महरुसँग प्रस्ताव आह्वान गरिएकोमा न्यून दररेट पेश गर्ने फर्मबाट ३५ वटा पाठीलाई ८ हजारका दरले २ लाख ८० हजार रुपियाँ र ३ वटा पाठा (विर) लाई १२ हजारका दरले ३६ हजारमा खरिद गरिएको छ ।
उहाँले कृषक समूह गठन, कृषक तालिम, औषधी तथा जैविक सुरक्षा सामग्री खरिद, वंगुरको बिमा र अनुगमन तथा प्रतिवेदन लगायतका शिर्षकमा रकम खर्च भएको जानकारी दिनुभयो ।
लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले नगरपालिकाले पशु अस्पताल सञ्चालनमा ल्याएकाले अस्पतालबाट पशुपालक किसानले फाइदा लिनुपर्ने बताउनुभयो । बङ्गुर प्राप्त गर्ने किसानलाई जुकाको औषधी, भिटामिन, जैविक सुरक्षाका लागि प्रतिव्यक्ति ५ केजीका दरले चुना वितरण गरिएको छ ।
बंगुरको स्वास्थ्य जाँचगरी स्वाइन फिभरको भ्याक्सिन समेत लगाएर किसानलाई हस्तान्तरण गरिएकोमा आगामी दिनमा औषधी उपचारमा पनि सहयोग गर्ने नगरपालिकाको पुशपन्छी शाखाले जनाएको छ ।