गलकोट– बागलुङ नगरपालिकाले नगरभित्रको फोहरलाई स्रोतबाटै संकलन गर्ने र ल्यान्डफिल्डसाइटमा प्रशोधन गरेर बिक्री गर्ने योजना कार्यान्वयनमा ल्याएको छ । नगरपालिकाले नगर क्षेत्रमा संकलन हुने फोहरलाई पुनः प्रयोग र अन्य फोहरलाई प्रशोधन गर्नेगरी नमूना ल्यान्डफिल्डसाइट निर्माण गरिसकेको छ ।
आधा दशकदेखिको फोहर व्यवस्थापनको समस्या दीर्घकालीन रूपमा समाधान गर्न नगरपालिकाले फोहर प्रशोधनको जिम्मा समानता अभियान नेपाललाई दिएको हो । फोहर व्यवस्थापनमा चुनौती व्यहोरिरहेको नगरले समानता अभियान नेपालसँग फोहर व्यवस्थापनको सम्झौता गरेको नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए। उनका अनुसार स्रोतबाटै फोहर संकलनका लागि बजारभरि १५ हजार डस्विन वितरण गरिएको छ ।
समानता अभियानका चन्द्रकान्त पौडेल र बागलुङ नगरपालिका प्रमुख श्रेष्ठले ३६ करोड ७७ लाख लागतमा नमूना फोहर प्रशोधन केन्द्र निर्माणका लागि सम्झौता गरेको नगर कार्यालयले जनाएको छ । नगरपालिकाले पाँच प्रतिशत र अभियानले ९५ प्रतिशत आर्थिक भार बेहोर्दै फोहर व्यवस्थापन गर्न ३६ करोड ७७ लाख खर्च हुने छभने प्रशोधनबाट निकालिएको फोहरबाट अत्यावश्यक तथा घरायसी सामग्री बनाउन सकिने श्रेष्ठको भनाइ छ।
हाल फोहर फालिएको बागलुङ-१ स्थित मालढुङ्गामा व्यवस्थापन गरिने बताउँदै उनले प्रशोधन गरिएको फोहर व्यवस्थापन केन्द्रलाई अध्ययन अवलोकन तथा पर्यटकीयस्थलका रूपमा विकास गरिने जानकारी दिए । केन्द्रका लागि तत्काल चाहिने केही उपकरण र सवारिसाधन अभियानबाट संकलन गरिने नगरप्रमुख श्रेष्ठले जानकारी दिए।
फोहर व्यवस्थापन गर्दा डम्पिङसाइट दुर्गन्धित नहुने, पुनः उपयोग गरेर फोहरबाटै पैसा कमाउन सकिने लगायत लक्ष्य राखिएका उनले बताए। नगरपालिकाले यसअघि तीन प्रकारका बाल्टिन दिएर फोहर संकलनको काम थालिसकेको छ ।