सर्लाहीको हरिपुरमा जङ्गली हात्तीले मकैबाली नष्ट गर्‍याे

8.2k Shares

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–१ मा जङ्गली हात्तीले मकैबालीमा क्षति गरेको छ । तीन वटाको सङ्ख्यामा मकैबालीमा छिरेका जङ्गली हात्तीले धनबहादुर पाँडे, अशोक विमली, मदन मैनाली, बिन्देश्वर रामलगायतका किसानको बाली नष्ट गरेको हरिपुर–१ का वडाध्यक्ष नानीबाबु थापाले जानकारी दिनुभयो ।

दिउँसोमा जानकीनगर जङ्गलमा बस्ने जङ्गली हात्ती रात परेपछि बस्तीमा छिरेर मकै खाने र बाली कुल्चिएर नष्ट पार्ने गरेको स्थानीय किसान धनबहादुर पाँडेले बताउनुभयो । हात्तीले दुःख दिन थालेपछि किसानले तत्काल हात्ती नियन्त्रणका लागि पहल गर्न सबडिभिजन वन कार्यालय जानकीनगरमा अनुरोध गरेका छन् । जङ्गली हात्ती समाउन सहज नभएको र सजग रहन अनुरोध गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

जङ्गली हात्तीले नोक्सान पुर्‍याएको बालीको क्षतिपूर्ति पाउनुपर्ने पीडित किसानको माग छ । बासस्थानमा जाने क्रममा जङ्गली हात्तीले बाटोमा परेका अन्नबाली नोक्सान गरे पनि ती हात्तीलाई नजिस्काउन डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष झाले आग्रह गर्नुभएको छ ।

सम्बन्धित समाचार