देउवा नहल्लिएसम्म सरकार सुरक्षित रहने एमाले नेताहरूको विश्वास

8k Shares

काठमाडौँ । नेकपा एमालेले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धनबाट नहल्लिएसम्म सरकार र गठबन्धन दायाँबायाँ नहुने ठहर गरेको छ । पछिल्लो अवस्थामा कांग्रेसका महामन्त्रीलगायत अन्य शीर्ष नेताहरू सरकारको आलोचनामा उत्रिए पनि देउवा सहमतिप्रति दृढ रहेकाले तत्काल सरकार र गठबन्धन दायाँबायाँ नहुनेमा एमाले विश्वस्त भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर कांग्रेस नेता डा. शेखर कोइरालादेखि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा समेत सार्वजनिक रूपमै आलोचनामा उत्रेका छन् । यही बेलामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्ने भन्दै त्यसो भएमा माओवादी जस्तोसुकै सहयोग गर्न तयार रहेको सार्वजनिक रूपमा बताइरहेका छन् ।

कांग्रेस नेताहरूबाटै लगातार सरकारको आलोचना हुन थालेपछि सरकारको भविष्यलाई विभिन्न टिका टिप्पणी भइरहेका छन् । यही अवस्थामा सोमबार बसेको एमाले सचिवालय बैठकमा सत्ता साझेदार दल कांग्रेसका नेताहरूबाट सरकारबारे भइरहेका टिप्पणीबारे छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सरकारबारे बाहिर भइरहेका टिप्पणी र वर्तमान परिस्थितिका बारेमा संक्षिप्त विश्लेषण सुनाएका थिए । त्यस अवसरमा प्रधानमन्त्री ओलीले कांग्रेसभित्र व्यक्ति विशेषले गरेका टिप्पणीको खासै अर्थ नहुने भएकाले सरकार र गठबन्धन दायाँबायाँ नहुने आश्वस्त पारेका थिए ।

‘शेरबहादुर देउवाजी सहमतिप्रति दृढ हुनुहुन्छ । हामी पनि सहमतिमा दृढ छौ त्यसैले अहिले जे हल्ला भएको छ त्यसबाट तर्सिन पर्ने छैन किनभने उहाँ (देउवा) दृढ भएसम्म  समझदारी तलमाथि हुँदैन, हुने पनि म देख्दिनँ’, ओलीले सचिवालय बैठकमा गरेको ब्रिफिङलाई उद्धृत गर्दै एक सचिवालय सदस्यले रातोपाटीसँग भने, ‘कांग्रेस एमालेबिचको विश्वासको आधार टुटेको छैन, बरु बलियो भइरहेको छ । केही असमझदारी भए बसेर छलफल गर्न सकिन्छ ।’

ती नेताका अनुसार कांग्रेसको एउटा पङ्क्ति सरकारप्रति पहिलाबाटै आलोचनामा उत्रिए पनि त्यसले सरकारलाई सजग बनाएको र त्यसैका कारण सरकार तलमाथि हुने अवस्था नभएकोमा प्रधानमन्त्री विश्वस्त देखिन्थे ।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले कांग्रेस सभापति शेरबहादुर देउवा सहमतिप्रति दृढ रहेको भन्दै उनले यताउता नगरेसम्म सरकार नढल्ने बताए । तर देउवा यताउता भएमा कसैले रोकेर समेत रोक्न नसकिने पाण्डेको भनाइ छ ।

सम्बन्धित समाचार