विश्व । विभिन्न क्षेत्रका ६ जना महिलाले अन्तरिक्ष यात्रा गर्ने भएका छन् । लरेन सान्चेजको नेर्तत्वमा पप गायिका केटी पेरी, पत्रकार गेल किङ, नागरिक अधिकार वकिल अमान्डा इन्गुएन, पूर्व नासा रकेट वैज्ञानिक आइशा बोवे र चलचित्र निर्माता करिन फ्लिनले अन्तरिक्ष यात्रा गर्न लागेका हुन् ।
उनीहरूले पृथ्वीको वायुमण्डलबाट धेरै टाढा रहेको पृथ्वी र अन्तरिक्षबीचको काल्पनिक सीमा, कर्मन रेखा पार गर्ने बीबीसीले जनाएको छ । न्यू शेपर्ड–३१ नामक यस मिसनमा ६ जनाले नै ब्लू ओरिजिनको न्यू शेपर्ड रकेटमा यात्रा गर्नेछन् ।
यसमा रहेको अन्तरिक्षयान पूर्णरूपमा स्वचालित हुने भएकाले अन्तरिक्षयानभित्र यसलाई सञ्चालन गर्ने कोही पनि हुने छैनन् । यो यात्रा लगभग ११ मिनेटको हुनेछ । सबै महिलाले अन्तरिक्षबाट पृथ्वीको दृश्य अवलोकनपछि पृथ्वीतर्फ आफ्नो फिर्ती यात्रा शुरू गर्नेछन् ।