गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग

10k Shares

म्याग्दी । जिल्लाको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएका भेटीबाट सजावट योजनालाई सहयोग भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरमा सङ्कलन भएको भेटीबाट बेनी नगरपालिकाले सञ्चालन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि रु. छ लाख सहयोग गरेको हो । 

चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले रु. २० लाख बजेट विनियोजन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषले रु. छ लाख, पुलह पुलत्स्य अन्नक्षेत्र र राधाकृष्ण मन्दिरले रु. दुई–दुई लाख उपलब्ध गराएका बेनी–९ का वडाध्यक्ष चक्र केसीले जानकारी दिनुभयो । 

कुल रु. ३० लाख लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि बेनीको निर्माण कम्पनीले रु. २४ लाख ३६ हजार ५७१ मा ठेक्का लिएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वर बजारभित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न परियोजनाको काम थालेको हो । 

परियोजनामार्फत गलेश्वर बसपार्कबाट प्रवेशद्वार, गलेश्वर मन्दिर परिसर हुँदै राहुघाट नदी किनारसम्मको पैदलमार्ग, सडकमा स्लेट ढुङ्गा बिछ्याइने र किनारामा गमला राखेर फूलका बिरुवा रोपिने वडाध्यक्ष केसीले बताउनुभयो । 

सम्बन्धित समाचार