एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन् : प्रधानमन्त्री ओली

11.1k Shares

रुपन्देही । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्त्वहरू असफल भएको भन्दै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताएका छन् ।  नेकपा (एमाले) को रुपन्देही जिल्ला कमिटीले शुक्रबार बुटवलमा गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी विदेशी प्रतिक्रियावादी स्वार्थी तत्त्वहरूले एमालेलाई विभाजनको कोसिस गरिए पनि असफल भएको टिप्पणी गरे ।

‘एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन् । म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान नेताहरू पार्टीमा आउनेछन्’, ओलीले भने, ‘यस देशको विकासको भाग्यरेखा हामी आफैँ कोर्छौँ । मान्छेको घरमा आगो लगाएर  र पसलबाट चोरेर भाग्नेहरूले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन् ।’

राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अहिलेको सरकारले आफ्ना सबै प्रयास गरिरहेको प्रधानमन्त्रीको भनाइ छ ।  उनले विगतमा आफ्ना कुशासन र निरङ्कुशताको राज सम्झिएर प्रतिगामी तत्त्वहरूले यस व्यवस्थालाई बदनाम गर्न अराजकता र अफवाह फैल्याउन खोजे पनि त्यसबाट विचलित नभई समृद्धि र सुशासनको अहिलेको यात्रामा योगदान दिन सबैमा आग्रह गरे । 

अहिलेको आधुनिक समयमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा पछि लाग्नु बेकार भएको जनाउँदै उनले लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउँदै जनताको समृद्धि र विकासलाई तीव्र गति दिन वर्तमान संयुक्त सरकार कटिबद्ध रहेको स्पष्ट गरे ।  देशका ठुला दलहरू नेपाली काँग्रेस र एमालेले मुलुकलाई स्थायित्व दिन र देशलाई परिवर्तनका लागि सरकार बनाएले यो सरकार (गठबन्धन) आगामी निर्वाचनसम्म जाने स्पष्ट गर्दै ओलीले भने, ‘यो सरकार ढल्न त के हल्लन पनि हल्लँदैन ।’

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारको पालामा लुम्बिनीमा विभिन्न राजमार्ग, अस्पताल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ध्यान केन्द्र, कृषि उत्पादन क्षेत्रको विकासजस्ता अनेकै विकास र प्रविधिका योजना र कार्यक्रमहरू ल्याएको अवगत गराए । 

सम्बन्धित समाचार