काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रियलले रियल बेटिसमाथि १–० को जित निकालेको हो ।
रियल बेटिसको मैदानमा रियललाई जित दिलाउन ड्यानी कार्भाजलले निर्णायक गोल गरे । उनले खेलको दोस्रो हाफमा गरेको गोलले रियलले महत्त्वपूर्ण ३ अंक जोड्न सफल भयो ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा गोल गरेको हो ।
५४औं मिनेटमा करिम बेन्जेमाले गोल गरे पनि उनको गोलले मान्यता पाएन । ६१औं मिनेटमा ड्यानी कार्भाजलले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए ।
खेलको बाँकी समयमा दुबै टिमले गोल गर्न नसक्दा रियलले जित निकाल्न सफल भएको हो ।
जितसँगै रियल ३ खेलबाट ७ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । समान ७ अंक नै भए पनि सेभिया, भ्यालेन्सिया र मलोर्का गोल अन्तरमा शीर्ष चारमा रहेका छन् । पराजित बेटिस २ अंकसहित १४औं स्थानमा छ ।
ला लिगा कै अर्को खेलमा सेभियाले इक्चेसँग बराबरी खेल्दा रियल सोसिडाडले लेभान्टेलाई हराएको छ ।