भूकम्पको जोखिममा रहेका १५१ आवासीय घरको बीमा

9.8k Shares

नेपालगन्ज । भूकम्पको अत्यधिक जोखिममा रहेका नेपालगन्ज उपमहानगरका दुई वटा वडाका पुराना र जिर्ण अवस्थामा रहेका १५१ वटा आवासीय घरको बीमा गरिएको छ । 

नेपालगन्जको सबैभन्दा पुरानो बस्ती वडा नम्बर तीन र सातका अत्यधिक घरहरु जिर्ण र भूकम्पको अत्यधिक जोखिममा रहेकाले सबै आवासीय घरहरुको बीमा गर्ने योजना अनुसार हालसम्म १५१ वटा घरको बीमा नेपालगन्ज उपमहानगरपालिकाले गरेको हो । 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले देशमै पहिलो पटक यस प्रकारको बीमा कार्यक्रम नेपालगन्जमा गरिएको दावी गर्दै पहिलो चरणमा दुई वटा वडाका करिब ७५० घरमध्ये १५१ वटा आवासीय घरको बीमा गरिएको बताउनुभयो । अहिले बीमामा दुई वडामध्ये नेपालगन्ज तीनका १०९ र सातका ४२ घर समेटिएका छन् । 

विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाएर बीमा कार्यक्रम सुरु गरिएको जनाउँदै उहाँले बीमा बापत लाग्ने सबै रकम उपमहानगरले तिरेको र आवासीय घर बिमा कार्यक्रमले विपद् जोखिममा रहेका परिवारलाई ठुलो राहात तथा सहयोग हुने बताउनुभयो । प्रमुख बिष्टले भन्नुभयो, ‘भूकम्प, बाढी तथा डुबान र आगलागीबाट हुन सक्ने जोखिमलाई यसले ठूलो राहत दिने विश्वास गरिएको छ ।’ 

उपमहानगरपालिकाको विपद् व्यवस्थापन समिति संयोजक समीरप्रताप सिंहले उपमहानगरका धेरै पुराना घरहरु भूकम्प, हावाहुरी र आगलागिको अत्यधिक जोखिममा रहेकोले विपद् दुर्घटना बिमा र आवास बीमा कार्यक्रम अगाडि बढाइएको बताउनुभयो । 

आवासीय घर बीमाका लागि उपमहानगरपालिकाले १५ लाख रुपियाँसम्मको बीमा गर्दा प्रिमियम तिरिदिने तथा १५ लाखभन्दा माथिको हकमा व्यक्ति स्वयंले प्रिमियम तिर्नुपर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।  

राष्ट्रिय बिमा कम्पनी नेपालगन्जका प्रबन्धक नवीन शर्मा पौडेलका अनुसार १५ लाख रुपियाँको बीमा गर्दा ५८४ रुपियाँ वार्षिक प्रिमियम तिर्नु पर्दछ । बिमा भएका घरमा पाँच जनासम्मको लागि जनही सात लाख रुपियाँसम्मको बीमा समेत गरिएको जानकारी पौडेलले दिनुभयो । 

 

सम्बन्धित समाचार