बबई(बर्दिया) । लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको प्रवेश द्वारमा निर्माण गरिएको चिसापानी पुलमा आगलागी भएको करिव एक वर्षपछि मर्मत सम्भार सुरु भएको छ ।
बर्दिया र कैलालीको सिमा क्षेत्रमा पर्ने चिसापानी पुलमा गत वर्ष फागुन २८ गते लुम्बिनि प्रदेशबाट सुदुरपश्चिम प्रदेशतर्फ लाईटर बोकेर जाँदै गरेको ट्रक चिसापानी पुलमा पुगेपछि ट्रकमा आगलागी हुँदा पुलमा क्षति पुगेको थियो । कर्णाली नदीमा एउटा पिलरमा निर्माण गरिएको चिसापानी पुलमा आगलागि भएपछि पुलमा जडान गरिएका तारहरुमा समेत क्षति पुगेको थियो । पुलको तारमा जडान भएका १४ वटा स्टे केवलमा क्षति पुगेको सडक डिभिजन कार्यालय बाँकेले जनाएको छ ।
पुलमा भएको आगलागीको एक वर्षपछि पुल मर्मतको काम शुरु भएको सडक डिभिजन कार्यालय बाँकेले जनाएको छ । पुलको मुख्य पिलर नै एउटा छ त्यसमा जडान गरिएका स्टे केवलहरुमा समेत क्षति पुग्यो जसले गर्दा समयमा सामग्री उपलब्ध समेत हुन सकेन तर चाईनिज र अन्य देशका विज्ञसँगको राय अनुसार पुल मर्मतको काम सुरु गरिएको अपरेटर ईन्स्टक्चर दिपेन्द्र फुँयालले बताउनुभयो।
पुल मर्मतका लागि बिभिन्न किसिमका सामग्रीको आवश्यक्ता भएकाले ती सामग्री नेपालमा समेत नपाइने भएकाले पुल मर्मतमा समय लागेको सडक डिभिजन कार्यालय बाँकेका कार्यालय प्रमुख नरेन्द्र भट्टले बताउनुभयो । पुलमा आगलागी हुँदा १४ वटा स्टे केवलमा क्षति पुगेको थियो पुलको क्षति भएको भागलाई सफा गरेर त्यसमा भएको तारलाई खिया मुक्त गर्ने र पुलको आयु कम हुन नदिने गरी ईन्सुलेटर लगाउँने गरी काम शुरु गरिएको समेत उहाँले बताउनुभयो ।
गत वर्षको फागुन २८ गते लाईटर बोकेर सुुदुरपश्चिम जाँदै गरेको ट्रक चिसापानी पुलको बिच भागमा पुगे पछि आगलागी भएको थियो आगलागी भएपछि पुलमा क्षति भएको भन्दै केही दिन यातायात समेत अवरुद्ध भएको थियो । पुल मर्मत गर्न करिव १० दिन लाग्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।