काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य गिरावट हुँदा रुस सरकार दबाबमा छ । रुसको राजस्वसमेत घटेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।
युक्रेनसँगको युद्ध सुरु भएपछि रुसको अर्थ व्यवस्था मूल रुपमा तेल, उर्जा र खनिज पदार्थको निर्यातमा निर्भर छ । पश्चिमी मुलुकले प्रतिबन्ध लगाए पनि रुसलाई समस्या छैन । तर, ट्रम्पको टेरिफका कारण रुस दबाबमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।
‘टेरिफ वार’ चलिरहँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । सोमबार तेलको मूल्य घटेर ६० डलर प्रतिब्यारेलमा आइपुगेको छ । यता रुसको ‘युरल्स ओयल’ को मूल्य खस्किएर ५० डलर प्रतिब्यारेलमा झरेको छ ।
तेलको मूल्य घटेपछि पुटिन सरकारमाथि आर्थिक दबाब बढेको छ । रुसको अर्थ व्यवस्थामा सबैभन्दा बढी योगदान दिने क्षेत्र तेल र ग्याँस हो । यसको बिक्रीबाट रुसले प्राप्त गर्ने राजस्व गत वर्षको मार्चको तुलनामा १७ प्रतिशतले कम भएको मिडिया रिपोर्ट छ ।