ढल्केबर । कुनै सयम धनुषाको धनुषाधाम नगरपालिका तरबुज खेतीका लागि उर्वरभूमि मानिन्थ्यो । यहाँका प्रत्येक खेत हरिया तरबुजाले भरिएको हुन्थ्यो । स्थानीय किसानको मुख्य आम्दानीको स्रोत पनि यही खेती थियो । तर, पछिल्लो केही वर्षयता यहाँ तरबुज उत्पादनमा निकै गिरावट आएको छ । बिरुवामा रोग लाग्ने, उत्पादन लागत नउठ्ने र बजार समस्याले धनुषाधामका किसान निराश बनेको हो ।
धनुषाधाम नगरपालिका–७, भगवानपुरका किसान शिवनाथ यादव २० वर्षदेखि तरबुज खेती गर्दै आउनुभएको छ । यसवर्ष उहाँले आठ कठ्ठा जमिनमा तरबुजा खेती गर्नुभएको छ । जहाँ प्रति कठ्ठा करिब तीन हजार रूपैयाँ खर्च भएको छ । विगतमा तीन बिघासम्म तरबुज खेती गर्दै आउनुभएका यादव अहिले खेती घटाउँदै जानुभएको छ । बजार समस्या र उत्पादन लागत नउठ्ने भएकाले तरबुजाको उत्पादन क्षेत्र उहाँले घटाउनुभएको हो ।
लगभग २० वर्षअघिसम्म नेपालमा सबैभन्दा धेरै तरबुज उत्पादन हुने क्षेत्रको रुपमा धनुषाधाम परिचित रहेको उहाँले दाबी गर्नुभयो । तर पछिल्लो समय यो खेतीबाट फाइदा नदेखेपछि यहाँका किसान तरबुज उत्पादन छोडेर चैते धानलगायत अन्य बाली लगाउन थालेको यादवले बताउनुभयो ।