उपाधिका लागि गलकोट र जैमिनी खेल्ने

7.1k Shares

बागलुङ । चैत्राष्टमी मेलाको अवसरमा कालिका बालउद्यान बागलुङमा आयोजित ‘कालीका कप’ पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि गलकोट र जैमिनी नगरपालिका खेल्ने भएका छन् । 

आइतबार सम्पन्न सेमीफाइनलमा खेलमा सिद्दार्थ चश्मा घर कुश्मा नगरपालिकालाई पराजित गर्दै गलकोट नगरपालिका र काठेखोला गाउँपालिकालाई सोझो सेटमा पाखा लगाउँदै जैमिनी नगरपालिकाले फाइनलमा स्थान पक्का गरेका हुन् ।  

पहिलो सेमीफाइनल खेलमा गलकोटले कुश्मा नगरपालिकामाथि सोझो सेटमा जित निकालेको हो । गलकोटले २५–२२, २५–२२ र २५–१९ को सेटमा खेल जितेको हो । दोस्रो सेमीफाइनल खेलमा जैमिनी नगरपालिकाले पनि काठेखोलालाई २५–२३, २५–१७ र २५–२० को सोझो सेटमा जित निकालेको हो । 

त्यसअघिको सेमीफाइनल प्रवेशका लागि शनिबार भएका खेलमा गलकोटले बागलुङ नगरपालिकामाथि २५–१९, २५–२३ र २५–२० र जैमिनीले एलके भिलेज लेखानीमाथि २५–९, २५–११ र २५–१९ को सोझो सेट जित निकालेको थियो । 

दश टिम सहभागि खेलमा विजेताले २ लाख रुपियाँसहित मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेता टोलीले १ लाख रुपियाँ पुरस्कार पाउने आयोजक बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

सेमीफाइनल खेलेका दुवै टिमले २५ हजारको दरले पुरस्कार पाएका छन् । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीले पनि पुरस्कार पाउने छन् ।

यसअघि ‘कालिका कप’ महिला भलिबल प्रतियोगिताको उपाधि एस.एस.वाई.सी. मंगला म्याग्दीले जितेको छ । फाइनल खेलमा ग्रेस इन्टरनेशनल बागलुङलाई सोझो सेटमा पराजित गर्दै मंगलाले कालिका कप जितेको हो ।

विजेता मंगलाले ८० लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको ग्रेसले  ४० हजार रुपियाँ प्राप्त गरेको छ । 

सम्बन्धित समाचार