पाख्रीबास । पूर्वको पर्यटकीय गन्तव्यका रूपमा रहेको धनकुटाको भेडेटारमा पछिल्लो समय भारतीय पर्यटक आउने क्रम बढेकोे छ ।
भेडेटारनजिकै रहेको नमस्ते झरना, नाम्जेमा रहेको होमस्टे र त्यस आसपासका होटेल यतिबेला भरिभराउ हुने गरेको होटेल एसोसिएसनका अध्यक्ष तुमराज लिम्बूले बताउनुभयो । विश्वमा आएको कोभिड–१९ महामारीका कारण केही वर्ष मन्दीको सामना गर्नु परे पनि पछिल्लो समयमा यसले पहिलाकै जस्तो गति लिएको उहाँको भनाइ छ ।
प्रायः बाह्रै महिना चिसो हुने भेडेटारमा तराईको गर्मी बढ्न थालेपछि पर्यटकको सङ्ख्या बाक्लो हुने होटेल एसोसिएसन भेडेटारका पूर्वअध्यक्ष लीलाराज लावती बताउनुहुन्छ । उहाँका अनुसार भेडेटारसहित आसपासका क्षेत्रमा सानाठुला गरी करिब दुई सय होटेल सञ्चालनमा रहेका छन् ।
पछिल्लो समय प्रदेश सरकारले पनि यस क्षेत्रलाई पर्यटन प्रवर्धन गर्न सहयोग गर्दै आएको छ । यस ठाउँमा रहेका पर्यटकीय क्षेत्रको पहिचान गरी यस्ता पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय सरकार र प्रदेश सरकारले पूर्वाधार निर्माणमा बजेट छुट्याएर काम गर्ने साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताउनुभयो ।