नेपाल नेत्रज्योति सङ्घ र महिडोल युनिभर्सिटीबीच समझदारी

8.3k Shares

काठमाडौं- आँखा उपचार सेवाको विकास र विस्तारका लागि नेपाल नेत्रज्योति सङ्घ  र थाइल्याण्डको महिडोल युनिभर्सिटीका बीचमा आपसी सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को समुपस्थितिमा आज ती दुई संस्थाहरुबीच बैँककमा आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी भएको नेपाल नेत्रज्योति सङ्घले जनाएको छ । 

आँखा उपचार सेवाको विकास र विस्तारका लागि ज्ञान, विशेषज्ञता र प्रविधिहरू आदान–प्रदानका लागि दुई संस्थाहरूका बीचमा समझदारी भएको जनाइएको छ । उक्त सम्झौता पत्रमा नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्त र महिडोल युनिभर्सिटीका चिकित्सा सङ्काय, रामाथिबोडी अस्पतालका डिन प्राध्यापक आर्टिट उङ्कानन्तले हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौताअनुसार अब दुई संस्थाले थाइल्याण्ड, नेपाल तथा अन्य देशहरूमा आँखा परीक्षणलगायतका आँखा हेरचाहसम्बन्धी कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गर्नेछन् ।

सम्बन्धित समाचार