कास्की । गण्डकी प्रदेशका ८ जिल्ला खेलकुद विकास समितिहरूले पदाधिकारी पाएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाको रोहबरमा परिषदका सदस्य सचिव श्रीधर शर्माले सपथ ग्रहण गराए संगै ८ जिल्लामा पदाधिकारी मनोनयन भएका छन् ।
गण्डकी प्रदेशका जिल्ला खेलकुद विकास समितिहरु गत फागुन ९ गते रिक्त भएका थिए । गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले ६ जिल्लामा अध्यक्ष सहित कोषाध्यक्ष र सरकारमा सहकार्यको भूमिकामा रहेको नेकपा एमालेले ५ जिल्लामा अध्यक्ष र कोषाध्यक्ष पाउने गरी गरिएको सहमति बमोजिम पदाधिकारीहरु मनोनयन गरिएको हो ।
नेपाली कांग्रेसले ५ जिल्लामा उपाध्यक्ष र सचिव तथा नेकपा एमालेले ६ जिल्लामा उपाध्यक्ष र सचिवसहित पदाधिकारी मनोनयन गरिएको परिषदका अध्यक्ष एवम् मन्त्री थापाले बताउनुभएको छ ।