पाल्पा- आलु भण्डारणका लागि गाउँमा शीतभण्डार अभावमा खेमराज रानाले भैरहवामा लैजाने गर्थे। रामपुरबाट गाडीमा ढुवानी गरेर भैरहवा लैजान त्यत्ति सहज भने छैन । उत्पादित आलु बिग्रन नदिन ढुवानी खर्चेर सुरक्षितसाथ राख्न भैरहवास्थित शीतभण्डारणमा लैजाने गरेको उनले सुनाए ।
हिजोआज भने उनलाई आलु शीतभण्डारमा राख्न भैरहवा पुर्याउनुपरेकाे छैन । रामपुर नगरपालिका–२ भलायटार बस्ने रानाले गाउँमै शीतभण्डार केन्द्र प्रयोगमा आएपछि धेरै सजिलो भएको बताए । यहाँ निर्माण भएको रामपुरशित भण्डारमा उनले माथिल्लो कृषक तरकारी समूहबाट ५० बोरा आलु ल्याएर राखेका छन् । सोमबारदेखि रामपुर नगरपालिकाले सूचना जारी गरेर शीतभण्डारमा किसानलाई आलु भण्डारण गर्न आह्वान गरी सुरु गरिएको हो । गत वर्ष पनि रानाले समूहमार्फत ५० बोरा आलु राखेका थिए ।
‘अघिल्लो वर्ष रामपुर शीतभण्डारमा राखेको राखेको आलु राम्रो भएपछि यो वर्ष पनि ल्याएर राखेका छौँ, गाउँघरमा नै चिस्यान केन्द्रमा राख्ने सुविधा भएपछि धेरै सजिलो भयो, यहाँ शीतभण्डार नबन्दासम्म भैरहवामा आलु राख्दै आइरहेका थियौँ, अब भैरहवा लैजान दौडधुप गर्नुपरेन’, उनले भने । अहिले भण्डारण गरेर राख्ने र पछि बेमौसमी याममा निकालेर बिक्री गर्दा किसानले उचित मूल्य पाउने उनी बताउछन् ।
आफ्नै ठाउँमा शीतभण्डार हुँदा आलु सुरक्षितसाथ राख्न ढुक्क हुने गरेको रामपुर–६ का ७४ वर्षीय लेखनाथ पोखरेल बताउछन् । शीतभण्डारको सुविधाले पछिल्ला वर्ष उत्पादन बढाउँदै गएको उनले जनाए । यस वर्ष उनले खायन र बीउ आलु गरेर १५ बोरा राख्ने तयारी गरेका छन् ।