चितवन । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले पहिलोपटक मुरली मकै सिफारिसको तयारी गरेको छ । भीमनगर लोकल मुरली मकै सिफारिसको तयारी गरिएको कार्यक्रमका प्राविधिक अधिकृत प्रज्ञ पोखरेलले जानकारी दिए ।
उनका अनुसार विगत ६ वर्षदेखि मुलुकका विभिन्न क्षेत्रमा परीक्षण गरिँदै आइएको यो मकै सिफारिसको तयारी गरिएको हो । कार्यक्रमले विभिन्न २८ जातका मुरली मकैको परीक्षण गरिरहेको भए पनि ९६ प्रतिशत फुला उठ्ने यो मकै पहिलोपटक सिफारिसको तयारी गरिएको उनले बताए । उनका अनुसार यो मकै हाल चितवनको माडी र पर्साको जीतपुरमा दुई वर्षदेखि परीक्षण गरिएको छ ।
त्यसैगरी कृषि अनुसन्धान निर्देशनालय खजुरा, जुटबाली अनुसन्धान कार्यक्रम इटहरीमा पनि यसको परीक्षण भइरहेको उनले बताए । अहिले कुन ठाउँमा कति उत्पादन दिन्छ भन्ने परीक्षण भइरहेको र ठाउँ सुहाउँदो भएपछि आगामी वर्षभित्र सिफारिस गरिने उनको भनाइ छ ।