काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा सहभागी हुन थाइल्यान्ड जाने भएका छन् । बिमस्टेकको छैटौँ शिखर सम्मेलन यही चैत २० देखि २२ गतेसम्म थाइल्यान्डको बैंककमा हुँदै छ ।
“प्रधानमन्त्रीज्यू बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुनको लागि थाइल्यान्ड भ्रमणको तयारी भइरहेको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले बाह्रखरीसित भने ।
निर्धारित कार्यक्रमानुसार, बैंककमा चैत २० मा बिम्स्टेक विदेश सचिवस्तरीय र चैत २१ गते विदेशमन्त्रीस्तरीय बैठक हुनेछ । चैत २२ गते बिम्स्टेक राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको बैठक हुनेछ ।
प्रधानमन्त्री ओलीले बिम्स्टेक शिखर सम्मेलनमा चैत २२ गते सम्बोधन गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, त्यसलाई द्विपक्षीय भ्रमण बनाउन प्रयास भइरहेको छ । सोही कारण प्रधानमन्त्री ओली चैत १९ गते नै थाइल्यान्ड प्रस्थान गर्ने गरी कार्यक्रम बनाउने कार्य भइरहेको स्रोतले बतायो ।
“थाइल्यान्डको द्विपक्षीय भ्रमण सम्पन्न गरेपछि प्रधानन्त्रीज्यू बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुने गरी तयारी भइरहेको छ,” स्रोतले भन्यो ।
सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापित बिम्स्टेकमा दक्षिण र दक्षिणपूर्वी एसियाका बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्ड गरी सात देश सदस्य छन् । बैठकमा सातै देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुख सहभागी हुनेछन् ।