काठमाडौं । धुलिखेल बचत तथा ऋण सहकारी संस्था लि.का पूर्व अध्यक्ष धर्मराज सिटौलालाई प्रहरीकै सेटिङमा अपहरण शैलीमा काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका दुई प्रहरीले सडकबाटै उठाएर २२ लाखको कागज गराएको समाचार छ ।
सिटौलालाई गत फागन १२ गते करिब ११ः३० बजे लगनखेलको बीच सडकबाटै अपहरण शैलीमा गाडीमा हाली काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा लगिएको थियो । सिटौलालाई अपराध अनुसन्धान महाशाखा पु¥याएपछि उजुरीकर्ता भनिएका ज्ञानबहादुर लबटको नाममा कार्यालय बाहिर नै २२ लाखको पहिलानै कपाली तमसुक तयार पारिएको अवस्थामा सो तमसुकमा जबरजस्ती सहीछाप गराईएको थियो ।

धुलिखेल बचत तथा ऋण सहकारी संस्था लि.का बचतकर्ताहरुको उजुरीको आधारमा सम्मानित जिल्ला अदालतदेखि चल्दै गएको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधिन छ । यसरी विचाराधिन मुद्दा चलिरहेको अवस्थामा लबटले प्रहरीसँग सेटिङ मिलाई २२ लाखको कपाली तमसुक बनाउनु भनेको प्रहरीले गैर कानुनी कार्य गरेको कानुन व्यवसायीहरुले बताएका छन् ।
लबटले प्रहरीसँग सेटिङ मिलाई २२ लाखको कागज गराए पनि लबटले उल्टै धुलिखेल बचत तथा ऋण सहकारी संस्थाबाट ४५ लाख रुपैयाँ ऋण लिई हालसम्म तिर्न सुरसार नगरी प्रहरीसँग सेटिङ मिलाएर पचाउन खोजेको प्रस्टरुपमा बुझ्न सकिन्छ ।
लबटद्वारा संचालिन टोखामा रहेको धुलिखेल बहुउद्देश्यीय गार्मेन्टको लागि ४५ लाख रुपैयाँ ऋण लिएको पीडित धर्मराज सिटौलाले बताए ।
यस विषयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी काजीकुमार आचार्यसँग बुझ्दा उनले भने ‘यस विषयमा मलाई जानकारी भएन, म बुझेर जानकारी गराउँछु ।’
यता, पक्राउ गर्ने प्रहरीको नम्बर ९८५१३१२०२९ मा सम्पर्क गरी घटनाक्रमलाई बुझ्न खोज्दा महिला प्रहरीले उठाएर यस विषयमा मलाई जानकारी छैन भन्दै वरिष्ठ सईसँग कुरा गर्नुस् भन्दै फोन दिइन् । लगत्तै वरिष्ठ सईसँग बुझ्दा पीडित भनिएका धर्मराज सिटौलालाई कार्यालयमा पठाउनुस्, डीएसपी सा’पसँग बुझ्नु्स् भन्दै तर्किए । हाम्रा संवाददाताले डीएसपीको नाम सोध्दा नाम नबताई उल्टै सो फोन डीएसपीलाई दिइयो । डीएसपी भनिएका सो व्यक्तिले धर्मराजलाई पक्राउ नगरिएको र बोलाउँदा नआएपछि हामीले उनलाई लिएर आएका भन्दै डीएसपीले पनि यही अफिसमा आउनु् भन्दै आफूले गरेको गल्ती ढाकछाप गर्न खोजे ।
डीएसपी भनिएको सो व्यक्तिले के सम्म भन्न भ्याए भने धर्मराज सिटौलाको विरुद्ध प्रदेश सरकारबाट दुईपटक पत्र आएको सम्म भने । तर मन्त्रालयसँग बुझ्दा सो मन्त्रालयका कर्मचारीले विचाराधिन मुद्दा भएका कारण हामीले पत्र नपठाएको बताए ।
यस विषयमा प्रहरीका उच्च अधिकारीहरुसँग बुझ्दा उनीहरुले भने ‘यस्तो सहकारी सम्बन्धी आर्थिक लेनदेन केश प्रदेश सहकारी मन्त्रालय वा नगरपालिकाका सम्बन्धित निकायबाट सहकारीका सबै संचालकलाई कारबाही गर्न आवश्यक ठाने पत्र काट्छ, त्यो पनि अपराधन अनुसन्धान विभागलाई होइन, परिसरलाई काट्ने गर्छ ।’
धर्मराज सिटौलालाई २२ लाखको कागज गराएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागका प्रहरीले सिटौलाका साला रामशरण खरेलको जिम्मा लगाएर बेलुकी ८ः३० बजे पठाएको पीडितले बताए ।