खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम सुरु गरेको छ । नगरका किसानलाई स्वरोजगार बनाउँदै नगरपालिकालाई राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्ष ६२ लाख बराबरको राँगा वितरण कार्यक्रम सुरु गरिएको हो ।
नगरपालिकाको घोषित कार्यक्रमअन्तर्गत तराईका फार्मबाट खरिद गरेर ल्याइएका उन्नत जातका राँगा कृषक समूहमार्फत किसानलाई वितरण गर्न सुरु गरिएको नगर उपप्रमुख विशन राईले बताए । ‘यस वर्ष चार सय राँगा वितरण गर्ने कार्यक्रम छ’, उनले भने, ‘नगरपालिकाको कृषि कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा किसानलाई उन्नत जातका राँगा वितरण गर्ने नीति बनाइएको छ । हालसम्म दुई सय राँगा वितरण गरिसहेका छौँ ।’
पन्ध्र वडा रहेको यो नगरपालिकाको वडा नं ३ बाम्राङमा १६ लाख, वडा नं ४ खाल्लेमा सात लाख, वडा नं ५ लफ्याङमा १२ लाख, वडा नं ७ दोर्पामा तीन लाख र वडा नं १५ विजयखर्कमा आठ लाख ५० हजार बराबरको राँगा वितरण गरिसकिएको छ । उक्त वडामा बाँकी रकमको समेत राँगा खरिद गरेर किसानलाई वितरण गरिने उपप्रमुख राईले जानकारी दिए ।
राँगा खरिद गरिएको कुल मूल्यको २५ प्रतिशत मूल्य किसान स्वयंले भुक्तानी गर्नेगरी राँगा वितरण कार्यक्रम तय गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए । कृषक समूहको खातामा रकम जम्मा गरिदिएपछि समूह आफैंले खरिद–ढुवानी तथा वितरण गर्ने गरिएको छ ।