टोटनहमका मुख्य प्रशिक्षक नुनो बर्खास्त

18.7k Shares

काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब टोटनहमले सोमबार मुख्य प्रशिक्षक नुनो स्प्रिटो सान्टोलाई बर्खास्त गरेको छ ।

टोटनहम शनिबार लिगमा म्यानचेस्टर युनाइटेडसँग ३–० ले पराजित भएको थियो । यससँगै लन्डन क्लब टोटनहमले मुख्य प्रशिक्षक नुनोसहित प्रशिक्षण टिमका इयान काथ्रो, रुई बारबोसा र एन्टोनियो डियासलाई बर्खास्त गरेको हो । 

“नुनो र उनको टिमले क्लबलाई सफलता दिलाउनका लागि धेरै मिहिनेत गरेको थिएँ । त्यसका बाबजुद यस्तो निर्णय गर्नुपरेकोमा म दुखी छु,” टोटनहमका फुटबल प्रबन्ध निर्देशक फाबियो पाराटिसीले भने, “उनी साँच्चिकै सज्जन व्यक्ति हुन् । उनलाई हामी सधैँ स्वागत गर्नेछौँ । उनी र उनको प्रशिक्षण टिमले क्लबका लागि गरेको योगदानका लागि धन्यवाद । साथै उज्वल भविष्यको कामना गर्दछौँ ।”

नुनो यसै सिजनको सुरुमा उल्भरह्याम्पटन छोडर टोटनहमसँग अनुबन्ध भएका थिए । टोटनहम अहिले लिगका आठौँ स्थानमा छ । टोटनहमले दस खेलबाट १५ अङ्क जोडेको छ । जुन शीर्ष क्लब चेल्सीभन्दा १० अङ्कले पछाडि हो । 

नुनोले यसअघि उल्भरह्याम्पटन, पोर्टो, भ्यालेन्सिया जस्तो टिमको प्रशिक्षण सम्हालिसकेका थिए । 

सम्बन्धित समाचार