कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा दिने तयारी

16.9k Shares

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज (सोमबार) राजीनामा दिने भएका छन् । 

आज ५ बजे मन्त्रिपरिषद् बैठक बसेपछि मुख्यमन्त्री शाहीले राजीनामा दिने तयारी गर्नुभएको हो । अन्तिम अवस्थामा परिस्थिति नफेरिए बेलुकासम्म मुख्यमन्त्री शाहीले राजीनामा दिने भएका छन् ।

गएको वैशाख ३ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा माओवादी र कांग्रेसले आलोपालो सरकार चलाउने सहमति गरेका थिए । त्यहीअनुसार अब कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्नु हुनेछ ।  

त्यही सहमति अनुसार २०७८ जेठ २४ गते २ मन्त्रालय लिएर कांग्रेस कर्णाली सरकारमा सहभागी भएको थियो । उक्त सहमति अनुसार माओवादीबाट मुख्यमन्त्री बनेका शाही बाहिरिन लागेका हुन् । 

गत वैशाख ३ गते ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएर एमालेको कारबाहीमा परेका एमालेका तत्कालीन सांसदहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको मन्त्रीको समेत पदावधि सकिएको छ । उनीहरू प्रदेशसभा सदस्य नरहेका कारण कात्तिक १५ देखि सरकारबाट बिदा हुनुपर्ने छन् । गैरसांसद रहेका उनीहरू ६ महिनामात्र मन्त्री हुन पाउने संवैधानिक व्यवस्था भएका कारण पदमुक्त हुन लागेका हुन् । 

यसअघि राजीनामा दिने नदिने केन्द्रमा बन्ने समझदारीले तय गर्ने माओवादीले जनाएको थियो । शाहीलाई मुख्यमन्त्रीबाट राजीनामा नगराउन नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले प्रयास गरेको थियो । तर, गठबन्धनबीचको सहमति कार्यान्वयनको गर्नुपर्ने अध्यक्ष प्रचण्डको निर्देशनअनुसार शाहीले राजीनामा दिने भएका हुन् ।

कर्णाली प्रदेशमा माओवादी केन्द्र, कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबीचको गठबन्धन सरकार छ । कांग्रेसले मुख्यमन्त्री लिएपछि मुख्यमन्त्रालयमा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई दिने तयारी छ । 

सम्बन्धित समाचार