काठमाण्डौ – काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा आकाश खुलेको छ । लगातार दुई दिनसम्म बेलुकी परेको पानीका कारण केही दिनदेखि घुम्म भएको मौसममा आज केही सुधार आएको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार त्रिभुवन विमानस्थलको भिजिबिलिटीमा पनि सुधार भएको छ ।
भिजिबिलिटी कम हुँदा अस्ति विमानस्थलको उडान र अवतरण अवरुद्ध भएको थियो । हिजोसम्म १ हजार पाँच सयसम्म झरेको विमानस्थलको भिजिबिलिटी अहिले भने सामान्य अवस्थाजस्तै ४ हजार पुगेको छ ।
आज पनि काठमाण्डौ उपत्यकामा बेलुकीपख हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैबीच काठमाण्डौसहित देशका विभिन्न ठाउँमा अस्तिदेखि परेको पानीले प्रदूषण केही घटेको छ ।
वर्षाले वायुमण्डलमा धेरै दिनदेखि थुप्रिएको घातक प्रदूषण घटाउन सहयोग पुगेको मौसमविद्ले बताएका छन् ।
वायु गुणस्तर निगरानी गर्ने आईक्यू एअरसूचकमा विश्वकै प्रदुषित शहरमध्ये आज काठमाण्डौ १४ औँ नम्बरमा परेको छ ।
काठमाण्डौ आज आईक्यू एअर सूचकांक एक सय १४ रहेको छ । यसअघि केही दिनदेखि काठमाण्डौ विश्वकै प्रदूषित शहरमध्ये पहिलो, दोस्रो र तेस्रोमै रहँदै आएको थियो ।
काठमाण्डौमा प्रदूषण बढ्दो : आज बिहान विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा
त्यस्तै देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकोले पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही ठाउँमा हल्का हिमपात तथा मेघगर्जन र चट्याङसहितको हल्का वर्षाको सम्भावना छ ।
यस्तै लुम्बिनी प्रदेशमा पनि मेघगर्जन र चट्याङसहितको हल्का वर्षाको सम्भावना छ । मधेश प्रदेश र अरु प्रदेशका तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ ।