बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको जङ्गली हात्तीको आक्रमणमा परेर एक जनाको ज्यान गएको छ । गएराति १० बजेतिर निकुञ्ज भित्रबाट गाउँमा पसेको जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय बोलीराम थारुको ज्यान प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भुरीगाउँका अनुसार घर नजिकै गहुँ खेतमा केही आवाज आएको थाहा पाएपछि हेर्न घरबाहिर निस्किएका थारुको हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको हो । उहाँकी श्रीमतीले भने भागेर ज्यान जोगाउन सफल हुनुभएको छ ।
जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएका आफन्त र स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध गरेका छन् । प्रहरीले गाडीलाई वैकल्पिक सडकमार्फत पठाइरहेको छ ।
मृतक थारुको शव आफन्तले उठाउन दिएका छैनन् । उनीहरूले उचित राहत, क्षतिपूर्ति, वन्यजन्तुको आक्रमणका घटना हुन नदिन दिगो समाधान गर्नुपर्नेलगायतका माग गरका छन् ।
पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएलगत्तै मृतकका आफन्त, स्थानीय जनप्रतिनिधि, निकुञ्जका टोली र प्रहरीबीच छलफल भइरहेको छ ।