काठमाडौं । धार्मिक क्षेत्रमा बेग्लै इतिहास बोकेको शक्तिपीठको रुपमा रहेको ताप्लेजुङको पाथीभरा माताको दर्शन गर्न जाने तिर्थ यात्रीहरुलाई सहज बनाउने उद्देश्यले केबुलकार बनाउने कार्य हुन लागेपछि स्थानीयले विरोध जनाउँदा कतिपय केबुलकार बनाउने पक्षमा उभिएका स्थानीयहरुलाई ज्यानै जोगाउन मुस्किल परेको समाचार छ ।
केबुलकार बनाउनु पर्छ भन्ने र बनाउन नहुने पक्षमा उभिएका स्थानीयबीच दोहोरो झडपसमेत भएको छ । सो झडपका कारण केबुलकार बनाउनुपर्छ भन्नेहरुलाई केबुलकार बनाउन नहुने पक्षहरुले राती घर—घरमा गएर सांघातिक आक्रमण गर्नुका साथै ज्यानै मार्नेसम्मको धम्की दिएको पाइएको छ ।

यसरी ज्यानै लिने धम्की र सांघातिक आक्रमणका कारण दर्जनौं परिवार नै सो स्थानबाट विस्थापित हुनुपरेको छ । विस्थापित हुने परिवारहरुमा यम लिम्बु, बिरबहादुर लिम्बु, कुलप्रसाद लिम्बु, त्रिलोचन सुब्बा, शेरबहादुर श्रेष्ठलगायतका परिवार वाध्य भएर विस्थापित भएका छन् ।
विस्थापित हुने क्रममा ताप्लेजुङ जिल्ला सिदिङवा गाउँपालिका वडा नं. ५ का कुलप्रसाद लिम्बुका परिवार ज्यानै लिने धम्की र सांघातिक आक्रमणबाट बच्न झापाको विर्तामोडमा आएर बसोबास गरेका छन् । तर, झापामा पनि विभिन्न अन्योन फोन नम्बरबाट फोन गरी केबुलकार बनाउने पक्षमा तँ उभिएको होइन भन्दै धम्की दिएका कारण त्यहाँबाट पनि वाध्य भएर सुरक्षित रहनका लागि ललितपुरको नखीपोटमा आएर बसोबास गरिरहेका छन् ।
सुरक्षाको दृष्टिकोणले ललितपुरको नखीपोटमा बसोबास गर्दै आए पनि त्यहाँ पनि फोनबाट ज्यान मार्ने धम्की आएका कारण यहाँ पनि असुरक्षित महसुस गरी घरबाट बाहिर निस्कने अवस्था नभएको कुलप्रसाद लिम्बुले हाम्रा प्रतिनिधि राजु बस्नेतलाई जानकारी गराए । कुलप्रसादले राज्यका सम्बन्धित निकायलाई आफूलाई ज्यानै मार्ने धम्की आएको जानकारी गराउँदा पनि खासै चासो नदिएका कारण घरबाट बाहिर निस्कन सक्ने अवस्था समेत नभएको कुलप्रसादका परिवारले बताएका छन् ।
स्मरणीय छ, गाउँमा पहिलेदेखि निम्न परिवारहरुलाई विपत पर्दा सहयोग गर्दै आइरहेका कुलप्रसाद लिम्बुले बाढीपहिरोमा परेका पीडितहरु देखि लिएर निम्न बर्गलाई परेको आपत विपतमा सहयोग गर्दै आइरहेका थिए । २०२० मा आफू छुट्टीमा नेपाल आएको बेला आफ्नो जन्मथलो गाउँ ताप्लेजुङ जिल्ला सिदिङवा गाउँपालिका वडा नं. ५ मा जाँदा महामारीको रुपमा रहेको त्यतिबेला कोरोना भाइरसका कारण नेपालभरि नै लकडाउन भएका कारण लामो समय गाउँमै बस्नु परेको थियो ।
त्यतिबेला अपराधिक मानसिकता भएका स्थानीयहरुले लामो समय विदेश बसेर नेपाल आएको कारण कुलप्रसाद आर्थिक रुपले सम्पन्न भएको भन्दै विभिन्न बहाना बनाउँदै चन्दा असुल्न थालेका थिए । त्यतिबेला आर्थिक रुपमा कम्जोरी अवस्थामा रहेका कुलप्रसादले आफू केही समयमा फेरि सिंगापुर जाँदै छु, सन् २०२२ मा छुट्टीमा आउँछु भनी आश्वासन दिएर उनी सिंगापुर फर्किएका थिए । सन् २०२२ मा छुट्टीमा नेपाल आएको बेला गाउँमा जाँदा माओवादीका एउटा समूहले एउटा सेलिब्रेटी ल्याई कार्यक्रम आयोजना गर्ने बहाना बनाउँदै कुलप्रसादसँग ३ लाख ५० हजार माग गरेका थिए । तर, उनको त्यति ठूलो रकम दिने अवस्था नभएका कारण आफूले दिन नसक्ने जानकारी गराएका थिए । बरु म गाउँमा रहेको विद्यालय, खानेपानीदेखि लिएर विकास निर्माणका लागि हो भने आफूले सकेको सहयोग गर्ने भन्दै तर्किएका थिए । यसरी माओवादीको त्यो समूहले राखेको माग पूरा नगर्ने भनेपछि माओवादीका केही समूहले जसरी पनि पैसा दिनुपर्छ भन्दै जवरजस्ती गरेपछि सामान्य झडप नै भएको थियो ।
त्यसपछि कुलप्रसादको छुट्टी सिद्धिएका कारण फेरि सिंगापुर नै गएका थिए । छोटो समयका लागि २०२४ मा आफू नेपाल आएको बेला आफ्नो जन्मथलो जाँदा सोही माओवादीका २०—२५ जनाका समूहले चन्दाको विषयलाई लिएर विवाद गर्न थाले । विवादकै क्रममा आफ्नो ज्यानै धरापमा पर्ने देखेपछि कुलप्रसादले अब म २०२५ मा पेन्सनमा आउँछु, त्यतिबेला रकम होइन खानेपानी, स्कुल, अस्पतालको लागि हो भने म तपाईंहरुले भनेको भन्दा बढी नै रकम दिने बताउँदै सिंगापुर फर्किन सफल भएका थिए ।