समय नहुँदै फुले आँप र लिची, यो वर्ष कम फल्ने अनुमान

9.6k Shares

काठमाडौँ । आँप र लिची फुल्न थालेका छन् । यो वर्ष समयअघि नै आँप लिचीलगायत गर्मी मौसममा हुने फल फुल्न लागेका हुन् ।  यसपालि गर्मीयाम छिट्टै सुरु भएकाले पनि फागुनको पहिलो सातादेखि नै आँप र लिचीमा मजुर (फूल) लाग्न थालिसकेका जानकारहरू बताउँछन् । 

पाँच वर्षअघि चैत अन्तिमतिर मात्र लिची र आँप फुल्ने गरे पनि यसपालि फागुनको पहिलो सातादेखि नै फुल्न थालेको मधेस प्रदेशअन्तर्गत कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र बाराका कृषि अर्थ विज्ञ गणेश महरा बताउँछन् । 

उनका अनुसार मौसम परिवर्तनले यस्तो देखिएको हो । ‘छिटो गर्मी हुने भएकाले आँप लिची छिटो फुले,’ उनले भने, ‘पहिला चैत वैशाखसम्म अलि अलि चिसो नै हुन्थ्यो । अहिले चैत अन्तिमसम्म लिची र आँपमा स–साना दाना लागिसके ।’ 

साथै यो वर्ष आँप कम फल्ने पनि महराले बताए । ‘आँप एक वर्ष अत्यधिक फल्ने र अर्को वर्ष कम फल्ने हुन्छ,’ उनले भने, ‘यस्तो नेपाली स्थानीय जातका आँपमा हुने गर्छ ।’ एक वर्ष फल्ने अर्को नफल्ने जातका कारण, खाद्य तत्त्वका कारण यस्ता समस्या देखा पर्ने उनको भनाइ छ । 

धनुषा कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रदीप कुमार यादवले पनि यो वर्ष कम फल लाग्ने वर्ष भएकाले बिरुवामा पर्याप्त फूल आउन नसकेको बताए । ‘जति फूल आइसक्नुपर्ने हो, त्यति आएको छैन,’ उनले भने, ‘गत वर्ष धेरै फलेको थियो । यो वर्ष थोरै फल्छ ।’

सम्बन्धित समाचार