सात भारतीय प्रहरी नेपाल प्रहरीको नियन्त्रणमा

11.2k Shares

काठमाडौँ -  नेपाल प्रहरीका पाँचजना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको फागुन १८ गते काज सरुवा भयो। प्रहरी प्रधान कार्यालयले उनीहरूको काज सरुवा गरेको थियो। तीमध्ये लमजुङमा कार्यरत निशान्त श्रीवास्तवको नेपाल प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा सरुवा गरिएको थियो। उनका ठाउँमा डिएसपी रेशम बोहरालाई पठाइएको छ। श्रीवास्तव अहिले छानबिनमा छन्। उनको अचानक किन सरुवा गरियो भन्नेबारे प्रहरी प्रधान कार्यालयले केही बताएको छैन। तर उनीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले गुपचुप रूपमा समिति नै बनाएको छ।

फागुन ११ गते दिउँसो राजधानीको नागार्जुनमा रहेको एक रेस्टुरेन्टमा भारतीय प्रहरीको टोलीबाट खानतलासी भयो। त्यहाँ खानतलासी भएको जानकारी नेपाल प्रहरीको उच्च तहले पाएपछि काठमाडौंका सबै नाका बन्द गरिए। एकाएक शनिबार दिउँसो काठमाडौंबाट बाहिर जाने यात्रुको चेकजाँच सुरु भयो। काठमाडौंका सबै प्रहरी युनिटहरू परिचालित भए। त्यसक्रममा भारतको पन्जाबबाट आएका प्रहरीको टोली समातिएको थियो। भारतीय प्रहरी विक्रमजित सिंहको नेतृत्वमा आएको सात सदस्यीय त्यही टोलीले नै रेस्टुरेन्टमा छापा मारेको थियो।

नेपाल प्रहरीको आधिकारिक संयन्त्रलाई जानकारी नदिई भारतीय प्रहरीको टोलीले छापा मारेपछि त्यसको सूचना विशेष ब्युरोमा पुगेको थियो। भारतीय प्रहरीको आग्रहमा विशेष ब्युरोले समेत खोजिरहेका ती व्यक्तिलाई भारतबाट आएको टोलीले नै बिनासमन्वय लान खोजेको थियो।

प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार भारतीय प्रहरी विक्रमजितसँग सुरेन्द्रजित सिंह, वीरेन्द्रजित सिंह, पुष्पेन्द्र सिंह, गगनदीप सिंह, रवीन्द्रप्रताप सिंह र मनीष सिंह काठमाडौंमा आएर आफ्ना नागरिक लिएर जान खोजेका थिए। तर नेपाल प्रहरीले शनिबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएर एक दिन हिरासतमा राख्यो। हिरासतमा सोधपुछ गर्दा लमजुङका डिएसपी निशान्त श्रीवास्तवले उनीहरूलाई सहयोग गरेको खुलेको थियो। ‘उनीहरूले लमजुङका डिएसपीसँग सम्पर्क गरेछन्। डिएसपीले सहयोग गरेको देखियो,’ एक प्रहरी अधिकृतले भने।

उनका अनुसार कसैलाई पनि जानकारी नदिई पन्जाब प्रहरीलाई सहयोग गरेपछि डिएसपी श्रीवास्तवमाथि छानबिन सुरु भएको हो। ‘उनीहरू पन्जाबबाट आएका रहेछन्। छापा मार्ने काममा नेपाल प्रहरीको समन्वय भएको भए राम्रो हुन्थ्यो तर त्यसो गरेको देखिएन,’ एक प्रहरी अधिकृतले भने।

डिएसपीमाथि छानबिन भएको विषय नेपाल प्रहरीले खुलाउन चाहेको छैन। भारतीय प्रहरी आएको विषयमा पनि नेपाल प्रहरीले औपचारिक रूपमा केही बताएको छैन। डिएसपीमाथि छानबिन हुने विषय नेपाल प्रहरीको आन्तरिक मामिला हो भन्ने गरिएको छ। ‘यो प्रहरीको आन्तरिक मामिला हो, प्रचारबाजी गरिरहनुपर्ने विषय होइन,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी दिनेश आचार्यले भने। नेपाल प्रहरीभित्र डिएसपी श्रीवास्तव ट्र्याक रेकर्ड राम्रो भएका अधिकृत हुन्। तर उनी माथिल्लो निकायको समन्वयबिना भारतीय प्रहरीलाई सहयोग गर्न किन तयार भए भन्ने विषय रहस्यमय बनेको छ।

पक्राउ परेका भारतीय प्रहरीलाई भोलिपल्टै अर्थात् फागुन १२ गते भारतीय दूतावासलाई जिम्मा लगाइएको थियो। दूतावासले पनि आफ्नो समन्वयबिना किन खानतलासी गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधेको बताइएको छ। आजको नागरिक दैनिकबाट 

सम्बन्धित समाचार