महिला चालक सम्मानित

7.9k Shares

फिदिम । पाँचथर जिल्लाका विभिन्न स्थानमा तीनपाङ्ग्रे साधन (अटो) चलाएर नागरिकको आवागमनमा सहजीकरण गर्दै आएका चार जना महिलालाई सम्मान गरिएको छ । उहाँहरुलाई फिदिममा आयोजित एक कार्यक्रममा सामूहिक सम्मान गरिएको हो ।

अन्तरपार्टी महिला सञ्जाल पाँचथरले एक सय १५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा करुवा र कदर पत्रमार्फत उनीहरु सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा फालेलुङकी गीता केरुङ र हिलिहाङकी सुस्मिता सेर्पासँगै फिदिमका सोनु तुम्बापो र प्रेमकुमारी आले हुनुहुन्छ । सम्मान हुनेमा गीता केरुङ जिल्लाकै पहिलो अटो चालक महिलाका रुपमा पहिचान बनाउन सफल हुनुहुन्छ ।

अटो चालक दिदीबहिनीलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य मैया श्रेष्ठ लावती, पूर्व सांसद सीता थेवे, अन्तरपार्टी महिला सञ्जाल पाँचथरका अध्यक्ष मिना रिजाल केरुङ, उपाध्यक्ष गीता घिमिरे, सचिव सानुमाया थापा मगर र महिला नेत्री मधु केरुङलगायतले सामूहिक रुपमा सम्मान गर्नुभएको थियो ।

महिलाको श्रम र मेहेनेतको प्रसंशासहित उहाँहरुलाई सम्मान गरिएको अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष केरुङले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार