सर्लाही – सर्लाहीकाे बागमती नगरपालिका–१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत ९ वर्षदेखि केराखेतीमा संलग्न हुनुहुन्छ । उहाँले साढे ७ बिघा खेतमा केराखेती गर्नुभएको छ । मेहनत अनुसारको उत्पादन र उत्पादन अनुसारको राम्रो व्यापार भएका कारण केराखेतीबाट मनग्य आम्दानी भइरहेको इन्द्रलालले बताउनुभयाे ।
‘५ वर्ष काम गरेपछि २०७१ सालमा स्वदेश फर्किएँ । विदेशबाट ल्याएको पैसा एउटा घर बनाउनेबित्तिकै सकियो । फेरि दैनिक छाक टार्नै धौधौको अवस्थामा पुगियो । परिवार बिरामी पर्दा छिमेकमा सापटीसमेत पत्याउन छाडे । काम र दुःख सम्झेर विदेश जाने आँट पनि आएन । त्यसपछि छिमेकीको खेत भाडामा लिएर केराखेती शुरू गरेँ’, उहाँले भन्नुभयाे । त्यसयता उहाँले दुःखलाई फर्किएर हेर्नुपरेको छैन ।
गाउँमा ५ सय रुपैयाँ कसैले नपत्याउने अवस्थाबाट केराखेतीले सम्मानजनक जीवन दिएको उहाँले उल्लेख गर्नुभयाे । पुर्ख्याैली सम्पत्तिका नाममा ३ कठ्ठा जग्गा पाउनुभएका उहाँले १० वर्षमा १५ कठ्ठा खेत, २ ठाउँमा घडेरी जोडेको बताउनुभयो । ३ सन्तानलाई उनीहरूले चाहेअनुसार आजको युग सुहाउँदो शिक्षादीक्षा यसै खेतीको आम्दानीबाट पूरा गरिरहेको उहाँको भनाइ छ ।
उहाँले १ छोरालाई फार्मेसी पढाउनुभएको छ । २ सन्तान उच्च शिक्षा अध्ययनरत छन् । छोराछोरीलाई आजको समाजमा बाँच्न सक्ने वातावरण तयार गर्न सक्नु नै ठूलो सम्पत्ति आर्जन भएको इन्द्रलाल बताउनुहुन्छ । आफूहरूजस्तो निम्न वर्गीय परिवारका लागि शिक्षा निकै महँगो बन्दै गएको उहाँले भनाइ छ । पैतृक सम्पत्तिका नाममा ३ कठ्ठा खेत पाउनुभएका उहाँले छिमेकीको १ बिघा खेत भाडामा लिएर केराखेती शुरू गरेको बताउनुभयो ।
प्रतिघरीमा ९० देखि १ सय कोसा केरा फल्छ, उहाँले भन्नुभयो, मैले मालभोग र नाइन ग्रेड (घ्यू) केराको बोट लगाएको छु । नाइन ग्रेडको घरीमा २ सय कोसासम्म फल्छ । प्रतिकोसा ३ रुपैयाँ ५० पैसाका दरले कम्तीमा ३ सय ५० देखि ५ सय रुपैयाँसम्म प्रतिघरी केरा बिक्री हुन्छ । छठ तथा चाडपर्वमा अझै महँगोमा बिक्री हुने उहाँले जानकारी दिनुभयो । यहाँ उत्पादन भएका केरा स्थानीय हरिवन, बरहथवा, नयारोड, सोल्टीलगायत बजारसम्म लैजाने गरिएको छ ।
उहाँ आफैँ पनि नियमित काम गर्ने भएकाले एक जना मजदूरको काम आफैँले भ्याउने गरेको उहाँको भनाइ छ । भारतीय केराका कारण बेलाबेलामा बजारमा समस्या हुने गरेको उहाँले सुनाउनुभयो । भारत सरकारले किसानलाई खेती, लगानी र ढुवानी गरेर ९० प्रतिशतसम्म अनुदान दिएको केरासँग आफूहरूकाे महँगो लगानीको उत्पादनले प्रतिस्पर्धा गर्नुपर्दा समस्या हुने गरेको उहाँले बताउनुभयो ।
राज्यले थोरै राजस्वको लोभमा देशका किसानलाई पेसाबाट पलायन गर्ने नीति सुधार गर्नुपर्ने उहाँको माग छ । बलले केराखेतीबाट सबै खर्च कटाएर मासिक एक लाख रुपैयाँसम्म आम्दानी गरिरहेको भन्दै यस पेशाले आफूलाई सन्तुष्टि दिएको प्रतिक्रिया दिनुभयो । कुनै पनि कृषिलाई उन्नत बनाउन राज्यले प्रविधिको उपयोग तथा खेती प्रणालीको विकासमा भने ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।