हिमपात हुँदा  किसान खुसी

9.8k Shares

मनाङ– मनाङका माथिल्लो भेगमा आंशिक हिमपात हुन थालेपछि  किसान खुसी भएका छन् । हिमपातले हिमाल टलक्क टल्केकाे देखिन्छ । पछिल्ला दिनमा जिल्ला सदरमुकाम चामेदेखि माथिल्लो मनाङसम्म हिमपात हुँदै आएको छ । तल्लो क्षेत्रमा भने हालसम्म हिउँ पर्न सकेको छैन ।

माथिल्लो क्षेत्रमा हिमपात हुँदा यहाँका हिमालमा हिउँ देखिन थालेको  छ भने समयमा हिमपात नहुँदा चिन्तित बनेका यहाँका किसानमा खुसी भएका छन् । हिमपातले खेतीपातीमा सहयोग पुग्ने किसान याङदुङ गुरुङले बताए ।

‘हिउँकै भरमा खेती गर्ने हामीलाई समयमा हिउँ नपर्दा समस्या हुने गरेको छ, ढिला गरी हिउँ पर्दा सिँचाइ राम्रोसँग हुन पाउँदैन तर पनि केही राहतचाहिँ हुन्छ’, उनले भने, ‘पानीको काम नै हिउँले गर्छ ।’ हिउँ नपरेको बेलामा समेत चिसोले यहाँका खोलानाला, झरना, तालका पानी जम्ने भएकाले सिँचाइमा समस्या हुने गरेको उनको भनाइ छ ।

यहाँ पानी मुहानमै जमेर समस्या हुने भएकाले सिँचाइका अन्य विकल्प उपयोग गर्नमा सकस हुने गरेको छ । विभिन्न आयोजना तथा योजना परे पनि मुहानमा चिसोले जम्ने हुँदा सिँचाइका वैकल्पिक तवरबाट किसानले सिँचाइ गर्न सक्दैनन् ।

किसान सेराप विष्टले मुहानमै पानी जम्ने हुँदा वैकल्पिक तरिकाबाट सिँचाइ गर्न नसकिने बताए । ‘पानीको मुहान लामो दूरीमा हुन्छ, सीमित आयोजनाले पूरा गर्न सक्दैन, धेरै समस्या रहेको छ’, उनले भने । ढिला गरी परेको हिउँले स्याउखेती, तरकारी तथा खाद्यान्न उत्पादनमा सहयोग गर्ने उनको भनाइ छ ।

हिमालमा हिउँ देखिन थालेपछि पर्यटकको आकर्षण बढ्दै गएको छ । पहिले कालापत्थर देखिने हिमालमा हिउँ देखेपछि लोभिन थालेका पर्यटक बताउँछन् । यतिबेलाको समयमा पर्यटक आउनुपर्ने उनीहरू बताउँछन् । समयमा हिमपात भइरहेको अवस्थामा सेताम्मे देखिने हिमालले अझ पर्यटकलाई आकर्षित गर्ने स्थानीय बताउँछन् ।

सम्बन्धित समाचार