काठमाण्डौ–१६ का महिलालाई भान्छामा प्रयोग हुने मसला र जडीबुटीबारे तालिम

10.5k Shares

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले वडा नम्बर १६ का गृहणीहरूलाई जडीबुटी र घरेलु मसलासम्बन्धी तीन दिने तालिम दिएको छ । भान्छामा प्रयोग हुने परम्परागत मरमसला र ती मरमसलासँगै आफू वरिपरि पाइने जडीबुटी चिनाउनका लागि तालिम आयोजना गरेको महानगरपालिकाले जनाएको छ ।

तालिमको समापन समाराेहमा सहभागीहरूले रोग लाग्न नदिन तथा कतिपय रोगहरूको उपचारका लागि भान्छामा प्रयोग हुने मसला र सजिलै पाइने जडीबुटी उपयोगी हुन्छन् भन्ने कुरा थाहा पाएको बताएका छन् ।

आरोग्य संस्थासँगको सहकार्यमा वडाले आयोजना गरेको तालिममा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले खानाबाट व्यक्तिमा रोगको शुरुआत हुने भएकोले महानगरपालिकाले स्वच्छ भान्छा, आरोग्य जीवनलगायत कार्यक्रमबाट निदानात्मक स्वास्थ्य सेवा थालेको बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर १६ का अध्यक्ष रोजिना श्रेष्ठले हेर्दा सामान्य लागे पनि शहरी जीवनमा खाद्य आचरण र स्वच्छ भान्छासम्बन्धी कार्यक्रम प्राथमिकतामा राख्नुपर्ने अवश्यकता रहेको बताउनुभयो ।

प्रशिक्षक मञ्जिप शाक्यका अनुसार तालिममा बेसार, मरिच, लसुन, अलैंची, जिम्बु, मेथी, ल्वाङ, मरिच, दालचिनी, तेजपात, सुकमेल, घिउलगायतको परिचय र प्रयोगबारे जानकारी गराइएको छ ।

सम्बन्धित समाचार