बुटवलमा विद्युत् प्रसारण लाइनको चार खुट्टा भएको टावर हटाएर मोनोपोल राख्ने काम शुरु

6.3k Shares

काठमाण्डौ – बुटवलमा विद्युत् प्रसारण लाइनको चार खुट्टा भएको टावर हटाएर मोनोपोल अर्थात् एउटा मात्रै खुट्टा भएको टावर राख्ने काम थालिएको छ । बुटवल उपमहानगरपालिका–११ कालिकापथको योगिकुटी चोकदेखि होराइजन चोकसम्मको सडक खण्डमा पर्ने प्रसारण लाइनको मोनोपोल राख्ने काम भइरहेको हो ।

बुटवलबाट मोतीपुरतर्फको १३२ केभी डबल सर्किट प्रसारण लाइनको चार खुट्टा भएको टावरलाई हटाएर योगिकुटी–होराइजन चोक सडक खण्डमा मोनोपोल राख्ने काम चलिरहेको विद्युत् प्राधिकरणले जनाएको छ । झन्डै एक किलोमिटर सडक खण्डको बीचमा रहेका चारवटा टावरलाई हटाएर राखिने मोनोपोलको जग (फाउण्डेसन) निर्माण भइरहेको छ । फाउण्डेसनको काम १५ दिनभित्रमा सकिने छ । यो सडक खण्डमा ३०/३० मिटरका दुईवटा र ३२/३२ मिटरका दुईवटा मोनोपोल जडान गरिने छ ।

प्रसारण लाइनलाई झन्डै १५ दिन बन्द अर्थात् (सटडाउन) गरेर मोनोपोल जडान गरिने छ । पुरानो टावरलाई हटाइने छ । साथै, तार (कन्डक्टर) पनि नयाँ प्रयोग गरिनेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अनुगमन गरी गर्मी शुरु हुनुभन्दा पहिले नै मोनोपोल जडान गरिसक्न आग्रह गर्नुभएको छ । गर्मीमा बुटवल क्षेत्रमा विद्युतको माग बढ्ने हुँदा प्रसारण लाइन सटडाउन गर्न समस्या हुने भएकाले तत्कालै काम सक्न कार्यकारी निर्देशक घिसिङले बुटवल ग्रीड महाशाखालाई निर्देशन दिनुभएको हो ।

अहिले सडक र लाइनबीचको दूरी ६ मिटरभन्दा कम छ । तर मानोपोल राखिएपछि सडक र लाइनबीचको दूरी झन्डै नौ मिटर हुनेछ । साथै सम्भावित दुर्घटनाको जोखिम कम हुनेछ । मोनोपोल निर्माणका लागि तीन करोड ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणको लगानीमा निर्माण भइरहेको मोनोपोलको सम्पूर्ण काम आउँदो जेठभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार