काठमाडौं– पाँचथरको फालेलुङ गाउँपालिका–३ र ४ वडाको संगमस्थल थाप्ली डाँडामा दोस्रो फालेलुङ पर्यटन महोत्सव हुने भएको छ । सिर्लिङ्गी टारमा दोस्रो फालेलुङ पर्यटन महोत्सव चैत १८ देखि २३ गतेसम्म आयोजना गर्ने भएको हो ।
आयोजक तीन सीमाना जनसेवा समाज नेपालका अनुसार महोत्सवको मुख्य उद्देश्य आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नु हो । यो भारतसँग सिमाना जोडिएको यो क्षेत्र समुन्द्र सतहबाट करिब ३ हजार मिटर उचाइमा रहेको छ । साथै यो लेकाली हावा पानी र जरिबुटिले प्रख्यात छ ।
यस क्षेत्रबाट सगरमाथा, कञ्चनजङ्घा, कुम्भकर्ण र मकालुलगायतका हिमालहरूको मनोरम दृश्य अवलोकन गर्न पनि सकिने आयोजकको दाबी छ ।
साथै, विश्वकै दुर्लभ वन्यजन्तु हाब्रे रेड पान्डासहित विभिन्न वन्यजन्तु तथा बहुमूल्य जडीबुटी पाइने यो क्षेत्र जैविक विविधताको हिसाबले पनि महत्त्वपूर्ण स्थल मानिन्छ । प्रशस्त रूपमा होमस्टेहरूको व्यवस्था गरिएकाे यस क्षेत्रमा चौँरी गाईबाट उत्पादन भएका विभिन्न परिकार पनि पाइन्छ ।
चौँरी गाइकोसमेत अवलोकन गर्न पाइने कारण आन्तरिक तथा बाह्य पर्यटकका लागि निकै रोचक हुने आयोजक दाबी छ । आयोजकका अनुसार महोत्सवअन्तर्गत विभिन्न प्रतियोगिता तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिने छ ।
यसपटक ८ किलोमिटर लामो साहसी म्याराथन प्रतियोगिता समावेश गरिएको छ, जसमा दौडथुन थाप्ली हुँदै तीन सिमाना परिक्रमा गरी पुनः थाप्ली मै समापन हुनेछ।
यस्तै, फुटबल प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, घोडा दौड रेस, याक राइडिङ तथा चर्चित गायिका बबिना किराती समापनका दिन २३ गते विशेष सांगीतिक प्रस्तुति महोत्सवको आकर्षण हुने आयोजक अध्यक्ष योगेन्द्र सावदेनले जानकारी दिए ।