भोजपुर । सरकारको घुम्नैपर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल ‘मुन्धुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण थालिएको छ । पदमार्गको स्वीस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा, सङ्घीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु. एक करोड लागतमा पहिलो चरणको पदमार्ग विस्तारसँगै पुनः निर्माणको काम थालिएको हो ।
पदमार्ग निर्माणका विषयमा जानकारी गराउने उद्देश्यले पदमार्ग बनिरहेको हाँस पोखरीमा सार्वजनिक सुनुवाइ गरिएको छ । सार्वजनिक सुनुवाइमार्फत योजनाको लागत, योजना सञ्चालन पद्धति, योजना सञ्चालन हुने क्षेत्र र पदमार्ग निर्माण अवधिलगायतको विषयमा सरोकारवाला पक्षलाई जानकारी दिइएको हो ।
यो पदमार्गलाई थप व्यवस्थित बनाउनको लागि पहिलो चरणमा पाँच दशमलव ४४ किलोमिटर पदमार्ग निर्माण तथा पुनः निर्माण थालिएको टेम्केमैयुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिनुभयो । पदमार्गसँगै पयर्टकलाई लक्षित गरेर यहाँ तीन वटा सार्वजनिक शाैचालय, दुई वटा रात्री विश्राम स्थल, एउटा खानेपानी धारा निर्माण गरिने उहाँको भनाइ छ ।
“तीन वटा सरकार र स्वीस सरकारको लागत साझेदारीमा मुन्धुम पदमार्गको थप विस्तारसँगै पुनःनिर्माण थालिएको छ”प्रशासकीय अधिकृत दाहालले भन्नुभयो,“यहाँ पर्यटकलाई लक्षित गरेर पदमार्ग निर्माणसँगै थप संरचनाहरु बन्नेछन् । यो निर्माण अवधि आगामी असार महिनासम्म छ ।” पदमार्गको निर्माण तथा पुनः निर्माणका लागि स्वीस सरकारको ५१ प्रतिशत, गाउँपालिकाको २२ प्रतिशत, केन्द्र सरकारको ५ प्रतिशत र प्रदेश सरकारको २२ प्रतिशत लागत साझेदारी रहेको प्रशासकीय अधिकृत दाहालले जानकारी दिनुभयो ।
मुन्धुम पदमार्ग गाउँपालिकाको गौरवको आयोजना रहेकोले यसको थप विकास तथा विस्तारमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकता राखेर यहाँका स्थानीयको समृद्धिको आधार तयार गर्ने लक्ष्यका साथ पदमार्ग विस्तार तथा विकासको काम गरिरहेको उपाध्यक्ष राईले बताउनुभयो । पदमार्गले यहाँको धर्म, सस्कार, सस्कृति रहनसहन, रीतिरिवाजको जगेर्नासँगै स्थानीय कृषि उत्पादनलाई पर्यटनसँग जोड्न टेवा पुग्ने उहाँको भनाइ छ ।