कालीगण्डकी कोरिडोरको कालीपुलमा सडक कालोपत्र

6k Shares

म्याग्दी– चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तर्गत म्याग्दीको प्रवेशद्वारमा रहेको बेनी नगरपालिका– ८ कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्र भएको छ ।

बेनी–जोमसोम–कोरला सडक योजनाले पर्वत हुँदै म्याग्दी प्रवेश गर्ने मोटरेबल पुलदेखि बगरफाँट जोड्ने झोलुङ्गेसम्म पाँच सय मिटर दूरीमा अक्सफाल्ट प्रविधिको कालोपत्र गरेको बेनी नगरपालिका– ८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए ।

सडक कालोपत्र गर्न २०८१ भदौ १४ गते बेनीको सक्षम ब्रदर्श प्रालिले ९२ लाख ४१ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

माघ मसान्तमा ठेक्का सम्झौताको अवधि सकिएपछि फागुन १ गतेदेखि लागू हुने गरी कूल रकमको दैनिक ०.०५ प्रतिशतका दरले निर्माण कम्पनीलाई हर्जना तिराइएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले बताए ।

जनप्रतिनिधि र स्थानीयवासीको दबाब, सम्बद्ध निकायले जरिवाना तिराउन थालेपछि निर्माण व्यवसायीले सम्झौता गरेको पाँच महिना १३ दिनपछि फागुन १३ गतेदेखि कालोपत्र गर्न सुरु गरेका थिए । यसअघि विसं २०७६ चैतमा गरिएको डिबिएसडी प्रविधिको कालोपत्र उप्किएर खाल्डाखुल्डी पर्ने, पानी जम्ने र धुलो भएको थियो ।

कालोपत्र भएपछि चिल्लो बनेको कालीपुलको सडक आकर्षक देखिएको, धुलो र हिलोको समस्या हटेर सरसफाइमा सहयोग पुगेको छ । कम्तीमा ११ मिटर चौडाइका दरले कालोपत्र गर्ने क्रममा छुटेको ठाउँमा पनि कालोपत्र गराउन पहल गरिएको वडाध्यक्ष कर्माचार्यले बताए ।

सम्बन्धित समाचार