हेलो सरकारमा शान्ति सुरक्षाबारे नागरिकका गुनासा धेरै

7.2k Shares

काठमाण्डौ – नागरिकको गुनासो सुन्ने ‘हेलो सरकारमा’ शान्तिसुरक्षा सम्बन्धी गुनासा धेरै आउने गरेका छन् ।हत्या हिंसा, सीमा अपराध, ठगी, भन्सार छली, अनलाइन ठगी, सामाजिक सञ्जाल दुरुपयोगजस्ता गुनासा धेरै आउने गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता प्रेम प्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँले उज्यालोलाई दिनुभएको जानकारीअनुसार हेलो सरकारमा आएका ५७ हजारभन्दा धेरै गुनासामध्ये ६ हजार गुनासा शान्ति सुरक्षासँग सम्बन्धित छन् । धेरैजसो गुनासो हेलो सरकारको टोलफ्री नम्बर, ईमेल, वेबसाईट, सामाजिक सञ्जालहरुबाट आएको उहाँको भनाइ छ ।

यसैगरी सार्वजनिक सेवा प्रवाह सम्बन्धी नागरिक एप, विद्युत आपूर्ति, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति प्रणाली, सडक पूर्वाधार  निर्माण र शिक्षासँग जोडिएका गुनासा पनि धेरै आउने गरेको कार्यालयको तथ्याङ्क छ ।

सामान्य सेवा प्रवाहसम्वन्धी गुनासा तत्काल समाधान गर्ने गरिए पनि न्यायिक निरुपणका उजुरीहरु समाधान हुन भने समय लाग्ने गरेको प्रवक्ता आचार्यले बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको हेलो सरकार कक्षमा गुनासा प्राप्त भएपछि समाधानका लागि सम्बन्धित कार्यालयमा पठाइने गरिन्छ । हेलो सरकारमा दर्ता भएका ५७ हजार  आठ सय गुनासामध्ये ३५ हजार चार सय गुनासा समाधान भएको कार्यालयको तथ्याङ्क छ ।

१० हजार दुई सय गुनासा अनुसन्धानको प्रक्रियामा गएको छ भने नौ हजार चार सय गुनासा सम्बन्धित निकायबाट हेरिए पनि कार्य प्रक्रियामा नगएको अवस्था छ । दुई हजार सात सय गुनासा समाधानका लागि हेलो सरकारले पठाए पनि सम्बन्धित निकायबाट हेरिएको छैन ।

प्राविधिक र जनशक्ति अभाव, सचेतनाको कमी, सरकारी निकायबीचको समन्वय अभावले प्रभावकारी रुपमा गुनासो समाधान हुन नसकेको कार्यालयले जनाएको छ । तर हेलो सरकार प्रणालीले नागरिकका गुनासो सरकारसम्म पुर्‍याउन सजिलो बनाएको कार्यालयको भनाइ छ । यसबाट सरकारप्रति नागरिको विश्वास बढेको कार्यालयका प्रवक्ता आचार्यले दाबी गर्नुभएको छ ।

हेलो सरकारमा टोलफ्री नम्बर ११११ मा फोनमार्फत, [email protected] मा ईमेलमार्फत, हेलो सरकारको वेबसाईट gunaso.opmcm.gov.np मा फारम भरेर, ९८५११४५०४५ नम्बरमा  ह्वाट्सप वा भाईबर मार्फत, फेसबुक, ट्वीटर, र  निवेदकर्ता स्वयम उपस्थित भएर पनि गुनासो टिपाउन सकिने व्यवस्था छ । सरकारले १३ वर्षअघि २०६८ सालमा हेलो सरकारको स्थापना गरेको हो ।

सम्बन्धित समाचार